्चतवन। जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नम्बर १० मा सञ्चालित लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्राडभेट लिमिटेडलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ। यही होटलमा गृहमन्त्री सुधन गुरुङले अम्लेट जांदा त्यसमा माछाको कांडा भेटिएको थियो ।
होटलको खानाको गुणस्तरका सम्बन्धमा उपभोक्ताहरूबाट प्राप्त जनगुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको निरीक्षण टोलीले मंगलबार अनुगमन गरेको थियो। अनुगमनका क्रममा उक्त होटलले गुणस्तरहीन खाने तेलको प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको र उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी खानेकुरा उपलब्ध गराएको पाइएको हो।
यी कैफियतहरूको विश्लेषणबाट होटलले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड क तथा सोही ऐनको दफा ३८ को खण्ड ङ को कसुर गरेको पाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णयानुसार उक्त होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा १ को खण्ड ख बमोजिम अक्षरुपी तीन लाख रुपैयाँ जरिवाना गरिएको छ।
यसका साथै अनुगमनका क्रममा होटलबाट बरामद गरिएका सम्पूर्ण गुणस्तरहीन तथा अखाद्य सामग्रीहरू नष्ट गर्ने निर्णय समेत भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङद्वारा जारी सूचनामा उल्लेख छ।



