विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य तथा चर्चित पूर्वफुटबल खेलाडी दीपेन्द्र धिमाल ‘ड्राइभर’को निधन भएको छ।
मोरङको उर्लाबारी नगरपालिका–६ निवासी ५९ वर्षीय धिमालको बिहीबार बिहान उपचारका क्रममा निधन भएको उर्लाबारी फुटबल क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिए।
भण्डारीका अनुसार धिमाल लामो समयदेखि प्यान्क्रियाजलगायत स्वास्थ्य समस्याबाट पीडित थिए। केही समयअघि भारतको हैदरावादमा उपचार गराएर उनी घर फर्किएका थिए। थप उपचारका लागि आइतबार पुनः भारत जाने तयारीमा रहेका धिमालको बुधबार साँझ स्वास्थ्यमा समस्या आएपछि उर्लाबारीस्थित अरनिको अस्पतालमा भर्ना गरिएको थियो।
रक्तमा चिनीको मात्रा घट्ने, ज्वरो आउने र वान्ता हुने समस्या देखिएपछि उपचाररत धिमाललाई चिकित्सकले बिहीबार बिहान करिब ५ः३० बजे मृत घोषणा गरेका थिए।
धिमालका श्रीमती, एक छोरा र एक छोरी छन्। छोरी विदेशमा रहेकाले उनी नेपाल आएपछि मात्रै अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
‘ड्राइभर’ नामले चर्चित फुटबलर
धिमाल मोफसलको फुटबल विकासमा महत्वपूर्ण योगदान पुर्याएका खेलाडी तथा खेलकर्मीका रूपमा परिचित थिए। फुटबल मैदानमा उनको खेल सञ्चालन गर्ने शैलीका कारण उनलाई ‘ड्राइभर’ उपनाम दिइएको उर्लाबारी फुटबल क्लबका सचिव भण्डारीले बताए।
राष्ट्रिय टोलीबाट भने नखेलेका धिमालले नेपालका चर्चित क्लब जनकपुर चुरोट कारखाना (जचुकाली) र थ्रीस्टारबाट फुटबल खेलेका थिए। उनले भारतको पश्चिम बंगाल लिगमा समेत विभिन्न स्थानीय क्लबबाट खेल खेलेका थिए।
खेलाडी जीवनपछि पनि धिमाल फुटबल क्षेत्रमै सक्रिय रहे। उनी उर्लाबारी फुटबल क्लबको अध्यक्ष, मोरङ जिल्ला फुटबल संघको सदस्य, दुई कार्यकाल महासचिव र तीन कार्यकाल अध्यक्ष हुँदै एन्फाको केन्द्रीय सदस्य बनेका थिए।
मोफसलमा फुटबलको विकास र प्रवद्र्धनमा धिमालले लामो समय योगदान पुर्याएको भण्डारीले बताए। उनको निधनले मोरङसहित नेपाली फुटबल क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरूले दुःख व्यक्त गरेका छन्।
