विराटनगर । विराटनगर–१० स्थित अर्किट प्लस टुले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा युनिसा राई प्रथम भएकी छन्। २३ जना विद्यार्थी सहभागी प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै राईले पहिलो स्थान हासिल गरेकी हुन्।
प्रतियोगितामा शिवकुमार साह द्वितीय र सतेन्द्र साह तृतीय भएका छन्। विद्यार्थीको वक्तृत्व क्षमता, तर्कशक्ति तथा विषयवस्तुमाथिको ज्ञान र प्रस्तुतिको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ।
प्रतियोगिताका लागि ‘कक्षा कोठादेखि मोबाइलको पर्दासम्मः बदलिँदो विद्यार्थी जीवन’ र ‘जलवायु न्यायः जिम्मेवारी कसको ? असर कसलाई ?’ गरी दुई विषय तय गरिएको थियो। सहभागी विद्यार्थीले आफूलाई रुचि लागेको विषय छनोट गरी त्यसमा आफ्ना धारणा, तर्क र विचार प्रस्तुत गरेका थिए।
कवि तथा पत्रकार मीनकुमार नवोदितको प्रमुख निर्णायकत्वमा शिक्षक राजन दत्त र सन्तोष अधिकारी सदस्य रहेको निर्णायक समितिले विजेता छनोट गरेको हो। सम्बोधन, विषयवस्तुको ज्ञान, प्रस्तुति, तर्क, विचारको क्रमबद्धता, भाषिक शुद्धता तथा शब्द चयन, मौलिकता र समय व्यवस्थापनलाई मूल्यांकनको आधार बनाइएको प्रमुख निर्णायक नवोदितले बताए।
उत्कृष्ट सात विद्यार्थी छनोट
प्रतियोगिताबाट अनुस दाहाल, दीपक दास, भेनस पोखरेल, त्रिक्षा महासेठ, उदय सोनार, सिर्जना मण्डल र गरिमा दास उत्कृष्ट सात विद्यार्थीका रूपमा छनोट भएका छन्।
प्रथम, द्वितीय र तृतीयसहित उत्कृष्ट सातमा छनोट भएका विद्यार्थीबीच अर्को चरणको प्रतियोगिता आयोजना गरिने प्लस टुले जनाएको छ। आगामी चरणमा उत्कृष्ट हुने विद्यार्थीलाई कलेजका तर्फबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्रिन्सिपल मनिष भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार विद्यार्थीमा लुकेर रहेका प्रतिभा पहिचान गरी उनीहरूलाई प्रस्फुटनको अवसर प्रदान गर्ने उद्देश्यले कलेजले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको छ।
अर्किटले कविता, वक्तृत्वकला, वादविवाद, चित्रकला, हाजिरीजवाफ तथा खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप नियमित रूपमा सञ्चालन गर्दै आएको उनले बताए।
कार्यक्रमको सहजीकरण शिक्षक मनोज तिवारीले गरेका थिए।
