काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए । रोहित पौडेल ३३ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो । उसका लागि फेसल शिनोजादाले ३३ रन बनाए । नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन जोडे ।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट हात पारे ।
नेपाल समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँगै रहेको छ । यसअघि बिहीबार भएको खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको थियो ।
नेपालले अब शनिबार जापानसँग खेल्नेछ । समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघिको एसियाली खेलकुदमा पनि नेपाल क्वाटरफाइनल पुगेको थियो । त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो ।
