एआइद्वारा बनाइएको तस्बिर
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिका ६ को वडा अधिवेशन अझै सम्पन्न हुन सकेको छैन। असोज ३ र ४ गते सम्पन्न गरिसक्नुपर्ने वडा अधिवेशन विवादका कारण असोज ८ गतेसम्म पनि टुंगो लाग्न सकेको छैन।
विराटनगर महानगरपालिकाका अन्य वडामा अधिवेशनमार्फत वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भइसके पनि वडा नम्बर ६ मा भने विवादका कारण निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन।
नेपाली कांग्रेसका वडा, नगर, क्षेत्र, जिल्ला तथा केन्द्र तहका नेताहरूले पटक–पटक सहमतिको प्रयास गरे पनि विवाद समाधान हुन सकेको छैन। असोज ७ गते निर्वाचन गर्ने सहमति जुटे पनि निर्वाचन अधिकृत मतपत्र छपाउन गएको र त्यसपछि फिर्ता नआएपछि विवाद थप चर्किएको हो।
वडा सभापतिका लागि रामकुमार ढकाल र प्रकाश मण्डलले दाबी गर्दै आएका छन्। उनीहरू दुई समूह बनाएर अधिवेशन प्रक्रियामा सक्रिय छन्। मण्डल संस्थापन पक्षनिकट र ढकाल कोइराला पक्षनिकट रहेको कांग्रेस नेताहरू बताउँछन्।
बारम्बार सहमतिको प्रयास गर्दा पनि सहमति जुट्न नसकेपछि असोज ७ गते निर्वाचन गर्ने सहमति भएको थियो। तर निर्वाचन अधिकृत नै सम्पर्कमा नआएपछि मतदान प्रक्रिया कसरी अघि बढ्ने भन्ने अन्योल सिर्जना भएको वडा नम्बर ६ का एक कांग्रेस नेताले बताए।
बुधबार मण्डल पक्षले निर्वाचन तत्काल गराउन माग गर्दै केही समय नाराबाजीसमेत गरेको थियो।
नगर अधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला वडा अधिवेशन नै रोकिएपछि अहिले कांग्रेसजनको ध्यान विराटनगर–६ तर्फ केन्द्रित भएको छ। बिहीबार निर्वाचन गराउने गरी सहमति जुटाउन प्रयास भइरहेको एक कांग्रेस नेताले जानकारी दिए।
विराटनगर महानगरपालिका ६ को वडा अधिवेशन केशलिया रोडस्थित गोसवल सदनमा जारी छ।
