विराटनगर । विराटनगरमा आयोजित ६ दिने मेगा ब्लड डोनेशन कार्यक्रमबाट ५८२ पिन्ट रगत संकलन भएको छ।
तेरापंथ युवक परिषद् विराटनगरको आयोजनामा असोज २ देखि ७ गतेसम्म विराटनगरका विभिन्न स्थानमा सञ्चालन गरिएको रक्तदान अभियानबाट उक्त परिमाणमा रगत संकलन भएको हो।
अभियानमा समाजका विभिन्न क्षेत्र र तहमा रहेका व्यक्तिहरूले उत्साहजनक सहभागिता जनाउँदै स्वस्फूर्त रूपमा रक्तदान गरेको कार्यक्रम संयोजक तथा युवा उद्यमी पवन पंकज पारखले जानकारी दिए।
तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष अरिहन्त दुगडले मारवाडी युवा मञ्च विराटनगर र विराटनगर प्लेटिनम राउण्ड टेबल नम्बर ११ सँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताए।
रक्तदान कार्यक्रम अपेक्षाअनुसार सफल भएको भन्दै दुगडले अभियानमा सहयोग गर्ने सबै रक्तदाता तथा संघसंस्थाप्रति आभार व्यक्त गरे।
कार्यक्रम सफल बनाउन तेरापंथ युवक परिषद् विराटनगरका पूर्वअध्यक्ष विकास लालवानी, मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीसहित विभिन्न युवा तथा स्वयंसेवकले सक्रिय भूमिका निर्वाह गरेका थिए।
आयोजकका अनुसार संकलित रगतले आकस्मिक अवस्था तथा उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।



