काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भौतिक संरचनामा क्षति पुगे पनि बाढी आउनुअघि नै सबै विद्यार्थीलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बाढी परिसरमा छिर्नुअघि नै सम्पूर्ण विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ पठाइएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। उनले सामाजिक सञ्जाल तथा केही माध्यममा ‘विद्यार्थीहरू बाढीमा बगे’ भनी फैलिएको खबर पूर्ण रूपमा भ्रामक र गलत भएको स्पष्ट पारेका छन्।
बाढी विद्यालयमा पसेपछि प्रधानाध्यापक दवाडी र शिक्षक प्रदीप पण्डित सबैभन्दा अन्तिममा बाहिरिएका थिए। आफूहरू निस्किने समयमा विद्यालय भवनभित्र एक जना पनि विद्यार्थी नरहेको उल्लेख गर्दै प्रधानाध्यापक दवाडीले धेरैजसो बालबालिका घर पुगिसकेको र केही डाँडातिर सुरक्षित स्थानमा रहेको बताए।
यसैगरी विद्यालय नजिकै रहेको महिला छात्रावासका ३० जना छात्रालाई पनि सुरक्षित रूपमा बाहिर निकालिएको छ भने विद्यालयका तीन वटा बससमेत सुरक्षित राखिएका छन्।
उक्त क्षेत्रमा बिजुली र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएकाले फोन सम्पर्कमा भने कठिनाइ भइरहेको छ। कुल १ हजार ६४३ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको छ।
