विराटनगर । चाडपर्वका बेला सीमावर्ती भारतीय बजार जोगबनीतर्फ हुने पुँजी पलायन रोक्दै विराटनगरको सुस्ताएको व्यापार चलायमान बनाउने उद्देश्यले ‘विराट ट्रेड फेयर’ आयोजना हुने भएको छ।
विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा असोज २२ देखि ३० गतेसम्म नौ दिन मेला सञ्चालन हुनेछ। मेलाको तयारी पूरा भइसकेको आयोजकले जनाएको छ। १५ वर्षपछि संघले विराटनगरमा दोस्रोपटक ठूलो स्तरको व्यापार मेला आयोजना गर्न लागेको हो। मेलाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम छ।
मेलाभित्र १६ करोड ५० लाखको कारोबार लक्ष्य
आयोजकले मेला परिसरभित्र मात्रै १६ करोड ५० लाख रुपैयाँको प्रत्यक्ष कारोबार हुने अनुमान गरेको छ। मुख्य डोमका व्यावसायिक स्टलबाट ८ करोड, अटोमोबाइलबाट ६ करोड, घरेलु तथा साना उद्यमीका स्टलबाट २ करोड, फुड स्टलबाट २० लाख र अन्य गतिविधिबाट ३० लाख रुपैयाँ कारोबारको लक्ष्य राखिएको छ।
यद्यपि, संघका अध्यक्ष प्रमोद अग्रवाल ‘जिन्दल’ले मेलाले विराटनगरको समग्र बजारमा करिब १ अर्ब रुपैयाँ बराबरको आर्थिक गतिविधि सिर्जना गर्ने दाबी गरेका छन्। उनका अनुसार चाडपर्वका बेला जोगबनी जाने उपभोक्तालाई विराटनगरमै रोक्न सके स्थानीय पसल, होटल, रेस्टुरेन्ट तथा यातायात क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्नेछ।
‘विराटनगरको बजार सुनसान, जोगबनी बजार गुलजार’ भन्ने अवस्था अन्त्य गर्न मेला आयोजना गरिएको अध्यक्ष अग्रवालले बताए। उनका अनुसार उद्योगबाट सिधै उपभोक्तासम्म सामान पुर्याएर छुटमा बिक्री गरिने भएकाले सीमापारि किनमेल गर्न जाने प्रवृत्ति घट्ने अपेक्षा गरिएको छ।
मेलामा करिब ७५ लाख रुपैयाँ खर्च हुने र स्टल, प्रायोजन तथा टिकट बिक्रीबाट करिब ८० लाख रुपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ।
११० भन्दा बढी स्टल
‘चाडपर्वको उत्सव, व्यापारको महोत्सव’ नारासहित आयोजना हुने मेलामा ११० भन्दा बढी स्टल रहनेछन्। मुख्य डोममा ७८ देखि ८० वटा व्यावसायिक स्टल रहनेछन् भने अटोमोबाइल तथा खाद्यान्नका स्टल पुरानो भवन क्षेत्रमा राखिनेछ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कोशी प्रदेशका घरेलु तथा साना उद्यमीलाई ढाका, अल्लो, मह, अचार तथा भोजपुरे खुकुरीलगायत उत्पादनका लागि ३० वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ। नेपालबाहेक भारत, पाकिस्तान र बंगलादेशका उत्पादनसमेत मेलामा राखिनेछन्।
उपभोक्तालाई राहत दिन दुग्ध विकास संस्थानले डिलर मूल्यमा १० प्रतिशत छुट दिनेछ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी र चामल छुट मूल्यमा उपलब्ध गराउनेछ।
रोबोट र एआईदेखि सांगीतिक प्रस्तुतिसम्म
मेलाको प्रवेश टिकट ५० रुपैयाँ तोकिएको छ। टिकटमार्फत दैनिक उपहारका साथै बम्पर उपहारमा एक जनाले विद्युतीय स्कुटर जित्ने व्यवस्था गरिएको छ।
बालबालिका तथा युवालाई आकर्षित गर्न रोबोट प्रदर्शन, एआई प्रविधिको अनुभव तथा पूर्वका पर्यटकीय क्षेत्र र दुर्गा पूजा झल्काउने ‘स्मार्ट सेल्फी जोन’ निर्माण गरिएको छ।
हरेक साँझ अस्मिता अधिकारी, महेश काफ्ले, राजनराज शिवाकोटी, एलिना चौहान, रचना रिमाललगायत कलाकारको सांगीतिक प्रस्तुति रहनेछ।
मेलामा ‘आँखादान महादान’ अभियान र लागुऔषध न्यूनीकरणसम्बन्धी सचेतनाका लागि निःशुल्क स्टलसमेत राखिनेछ। मेलालाई विराटनगर महानगरपालिका, कोशी प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघ तथा उद्योग संगठन मोरङलगायत संस्थाले सहकार्य गरेका छन्।
