काठमाडौं । राठी ग्रुपअन्तर्गत सञ्चालित अन्नपूर्ण राठी केबल इन्डष्ट्रिजको व्यापारमा उल्लेख्य वृद्धि भएको छ। कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा १७ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ६० लाख रुपैयाँ पुगेको छ।
कम्पनीले सन् २०२५ मा ३ अर्ब २५ करोड ७० लाख रुपैयाँ तथा सन् २०२४ मा २ अर्ब ४९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। यसअनुसार कम्पनीको व्यापार सन् २०२५ मा ३१ प्रतिशत र सन् २०२६ मा १७ प्रतिशतले बढेको देखिन्छ।
अन्नपूर्ण राठी केबल इन्डष्ट्रिजले घरायसी वाइरिङ केबल, पावर केबल, एबीसी/एसीएसआर केबल तथा कन्सेन्ट्रिक केबललगायतका विद्युतीय तार तथा केबल उत्पादन गर्दै आएको छ। कम्पनीका उत्पादन आन्तरिक बजारमा ‘राठी’ र ‘अन्नपूर्ण’ ब्रान्डमा बिक्री–वितरण हुँदै आएका छन्।
नाफा मार्जिनमा सुधार
कम्पनीको सञ्चालन नाफा मार्जिन पनि सुधार भएको छ। गत आवमा सञ्चालन नाफा मार्जिन १०.२६ प्रतिशत पुगेको छ, जुन सन् २०२५ मा ८.२१ प्रतिशत थियो।
त्यस्तै, कम्पनीको खुद नाफा मार्जिन गत आवमा ५.२९ प्रतिशत पुगेको छ। सन् २०२५ मा यस्तो मार्जिन ४.२२ प्रतिशत रहेको थियो।
कम्पनीको ग्रस क्यास एक्रुअल पनि बढेको छ। गत आवमा यो २६ करोड रुपैयाँ पुगेको छ, जुन सन् २०२५ मा १७ करोड ४० लाख रुपैयाँ थियो।
पुँजीगत संरचना थप सहज
थप इक्विटी लगानी र सेयर आवेदनबापत प्राप्त रकमका कारण कम्पनीको पुँजीगत संरचना सहज अवस्थामा रहेको बताइएको छ। गत आवको अन्त्यसम्म कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ पुगेको छ भने प्रिमियमसहितको इक्विटीका लागि ४० करोड ५० लाख रुपैयाँ अग्रिम रकम रहेको छ।
कम्पनीको ट्यान्जिबल नेटवर्थ पनि बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यसैगरी, गत आवको अन्त्यसम्म दीर्घकालीन कर्जा घटेर २१ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ।
इक्विटीमा भएको वृद्धिसँगै कम्पनीको समग्र गियरिङ अनुपात ०.४९ गुणामा झरेको छ। सन् २०२५ मा यस्तो अनुपात ०.६९ गुणा थियो। कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थबीचको अनुपात पनि सुधार भएर ०.५६ गुणामा आएको छ।
ब्याज भुक्तानी क्षमता पनि बढ्यो
कम्पनीको सञ्चालन नाफामा भएको सुधारसँगै ब्याज भुक्तानी क्षमता अनुपात ६.०४ गुणा पुगेको छ। सन् २०२५ मा यस्तो अनुपात २.७१ गुणा थियो।
त्यस्तै, कुल कर्जा र ग्रस क्यास एक्रुअलको अनुपात पनि सुधार भएको छ। गत आवमा यो अनुपात २.९३ गुणामा झरेको छ, जुन सन् २०२५ मा ४.०५ गुणा थियो।
२ अर्ब ७२ करोडभन्दा बढीको कर्जा रेटिङ
अन्नपूर्ण राठी केबल इन्डष्ट्रिज सन् २०२५ को जुनमा पब्लिक कम्पनीमा परिणत भएको थियो। कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल २ अर्ब ७२ करोड ५४ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ।
कम्पनीले दीर्घकालीन कर्जातर्फ ४० करोड ४ लाख रुपैयाँ र अल्पकालीन कर्जातर्फ २ अर्ब ३२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ।
राठी ग्रुपद्वारा सञ्चालित कम्पनीले विभिन्न प्रकारका तार तथा केबल उत्पादन गर्दै आएको छ। कम्पनीका अध्यक्ष श्याम राठी हुन्। राठीसँग उत्पादन, ट्रेडिङ तथा वितरण क्षेत्रमा २५ वर्षको अनुभव रहेको बताइएको छ।
