Premier Cables
Premier Steel

कोशी प्रदेश

विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन हुँदै, सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | साँझ ६:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्दै प्रदेशहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा असोज २७ र २८ गते हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ।

सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सचिव र विषयगत विज्ञहरूको सहभागिता रहनेछ।

विज्ञापन

सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतालाई संस्थागत र परिपक्व बनाउँदै प्रदेशहरूबीच अनुभव आदानप्रदान गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको बताए।

उनले संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न प्रदेशहरूले आफ्ना कमजोरी स्वीकार गर्दै संघीय कानुनको अभावमा उत्पन्न जटिलता हटाउन साझा पहल गर्नुपर्नेमा जोड दिए। उनका अनुसार सम्मेलन संघीय सरकार र प्रदेश सरकारबीचको द्वन्द्वका रूपमा नभई संविधानले परिकल्पना गरेको संघीयताको प्रभावकारी कार्यान्वयनका लागि साझा मञ्चका रूपमा आयोजना गरिएको हो।

सम्मेलनको पहिलो दिन असोज २७ गते बिहान ९ बजे मुख्यमन्त्री कार्कीको अध्यक्षतामा उद्घाटन सत्र सञ्चालन हुनेछ। उद्घाटनपछि सातै प्रदेशका उपलब्धि, नवीन अभ्यास, सफल कार्यक्रम, सिकाइ र चुनौतीबारे अनुभव आदानप्रदान गरिनेछ। प्रत्येक प्रदेशले आफ्ना गतिविधि र अनुभवबारे १५ मिनेटको प्रस्तुति दिने कार्यक्रम छ।

त्यसैगरी, प्रदेशहरूबीच अन्तर्राष्ट्रिय अभ्यासको आदानप्रदान, नेपालको संघीयताको संस्थागत विकास र अन्तरप्रदेशीय समन्वयका विषयमा विषयगत छलफल हुनेछ। संघीयताविद् डा. खिमलाल देवकोटा र वरिष्ठ संवैधानिक कानुनविद् डा. विपिन अधिकारीसहित विज्ञहरूले यस विषयमा धारणा राख्नेछन्।

अर्को सत्रमा आर्थिक एकीकरण, अन्तरप्रदेशीय विकास साझेदारी, प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन, भौतिक पूर्वाधार तथा कनेक्टिभिटी र नवप्रवर्तनका विषयमा छलफल गरिनेछ। यस सत्रमा उपप्राध्यापक दिपेशकुमार घिमिरेले कार्यपत्र प्रस्तुत गर्नेछन् भने वित्त आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले टिप्पणी गर्ने कार्यक्रम छ।

पहिलो दिन नै मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीसँग स्थानीय उत्पादन, निकासी, उद्योग र व्यापार प्रवर्द्धनका विषयमा अन्तरक्रिया गरिनेछ। साथै, सम्मेलनका निष्कर्ष समेटेर घोषणापत्रको मस्यौदा तयार पारिनेछ।

सम्मेलनको दोस्रो दिन असोज २८ गते ‘कोशी घोषणा–२०८३’ लाई अन्तिम रूप दिइनेछ। सातै प्रदेशका मुख्यमन्त्रीहरूले ‘कोशी घोषणा–२०८३ : सात प्रदेशबीच विकास साझेदारीको साझा प्रतिबद्धता’ मा सामूहिक हस्ताक्षर गर्ने कार्यक्रम छ।

सोही दिन दिउँसो १ बजे पत्रकार सम्मेलन गरी घोषणापत्रका मुख्य बुँदा, साझा प्रतिबद्धता र भावी कार्यदिशा सार्वजनिक गरिने मुख्यमन्त्री कार्कीले जानकारी दिए। घोषणापत्रमा समेटिएका विषयका आधारमा संघीय सरकारसँग आवश्यक समन्वय र छलफल अघि बढाइने उनको भनाइ छ।

सम्मेलनले प्रदेशहरूको आन्तरिक राजस्व अभिवृद्धि, विपद् व्यवस्थापनमा अन्तरप्रदेशीय सहकार्य, संघीय निजामती सेवा तथा प्रहरी ऐन निर्माण र पर्यटन प्रवर्द्धनका लागि आपसी कनेक्टिभिटी विस्तारमा ठोस रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा सहभागी मुख्यमन्त्री तथा विशिष्ट अतिथिहरूलाई कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमणसमेत गराइनेछ। यसले प्रदेशहरूबीच विकासका अनुभव साटासाट गर्नुका साथै साझा आर्थिक समृद्धिका लागि सहकार्यको आधार तयार गर्ने कोशी प्रदेश सरकारको विश्वास छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka