काठमाडौं । गोरखाको बूढीगण्डकी क्षेत्रमा आइतबार बिहान आएको बाढी र पहिरोको मुख्य कारण अत्यधिक वर्षा नभई पहिरोले खोला थुनिएर बनेको अस्थायी बाँध फुट्नु हुनसक्ने नेपाल मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ।
विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठका अनुसार पछिल्ला केही दिनमा गोरखा क्षेत्रमा मापन गरिएको वर्षाको मात्रा सामान्य रहे पनि कमजोर भूगर्भीय अवस्थाका कारण पहिरो खस्न र त्यसले विपद् निम्त्याउन भूमिका खेलेको हुनसक्छ।
गोरखाका बारपाक, नामरुङ र सेतीबेसीलगायतका वर्षा मापन केन्द्रमा पछिल्लो केही दिनमा सामान्यदेखि केही मात्रामा वर्षा रेकर्ड गरिएको छ। तर, उक्त वर्षाले मात्रै ठूलो बाढी निम्त्याउने अवस्था नदेखिएकाले पहिरोले खोला थुनेर पानी जम्मा भएको र त्यसपछि एक्कासि बहाव बढेको हुनसक्ने विभागको प्रारम्भिक अध्ययनले देखाएको डा. श्रेष्ठले बताइन्।
उनका अनुसार हालै आएको आँधीका कारण उच्च हिमाली क्षेत्रमा भएको हिमपातको प्रभावबारे पनि विभागले गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ। हिमपात वा अन्य भौगोलिक प्रक्रियाले बाढीमा पारेको सम्भावित प्रभावबारे अनुसन्धान भइरहेको उनले जानकारी दिइन्।
विभागले गोरखा क्षेत्रमा ठूलो मात्रामा वर्षा नभए पनि जमिन पहिले नै कमजोर अवस्थामा रहेकाले सामान्य वर्षाले समेत पहिरो र बाढीको जोखिम बढाउन सक्ने जनाएको छ। भूगर्भीय रूपमा संवेदनशील क्षेत्रमा थोरै वर्षा हुँदा पनि अप्रत्याशित विपद् निम्तिन सक्ने भएकाले सतर्कता आवश्यक रहेको विभागको भनाइ छ।
हाल उक्त क्षेत्रमा थप ठूलो वर्षा हुने पूर्वानुमान नरहे पनि भौगोलिक जोखिमलाई ध्यानमा राख्दै निरन्तर निगरानी गर्नुपर्ने विभागले जनाएको छ। बाढीको वास्तविक कारण र घटनाक्रमबारे थप अध्ययनपछि विस्तृत विवरण स्पष्ट हुने अपेक्षा गरिएको छ।
