Premier Cables
Premier Steel

विराटनगर

क्रिश्चियन धार्मिक प्रशिक्षणको आरोपमा मोरङबाट २४ दक्षिण कोरियाली नागरिक पक्राउ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २३, २०८३  | साँझ ५:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पर्यटक भिसामा आएर मोरङमा धार्मिक गतिविधि गरेको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिक पक्राउ परोक छन् । उनीहरुले क्रिश्चियन धार्मिक प्रशिक्षण तथा प्रचारप्रसारमा संलग्न भएको आरोप छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७, मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था ‘नेपाल न्यू कोभेनन्ट कलेज’ मा उनीहरु धार्मिक प्रशिक्षण दिइरहेका थिए । कार्यक्रममा सहभागी भइरहेका उनीहरूलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो।

विज्ञापन

प्राप्त जानकारीअनुसार, कलेजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन दक्षिण कोरियाली नागरिकहरू गत असोज २० र २१ गते काठमाडौँ हुँदै विराटनगर आएका थिए। उनीहरूको आगामी अक्टोबर १२ सम्म मोरङमा बस्ने कार्यतालिका रहेको थियो।

लभ नेपाल मिसनको सहयोगमा सञ्चालित उक्त कलेजमा धर्मशास्त्रसम्बन्धी अध्ययन तथा अध्यापन हुँदै आएको छ। संस्थाले प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्मको धार्मिक शिक्षा प्रदान गर्दै आएको बताइएको छ।

पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकले धार्मिक शिक्षा, तालिम वा प्रचारप्रसारमा संलग्न हुन नपाउने कानुनी व्यवस्थाविपरीत गतिविधि गरेको आरोप लागेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार, पर्यटक भिसामा आएर अध्यागमन कानुनविपरीत गतिविधि भइरहेको भन्दै स्थानीयबाट उजुरी प्राप्त भएपछि प्रशासन र प्रहरीले विगत दुई दिनदेखि उनीहरूमाथि निगरानी गरिरहेको थियो। अनुसन्धानका क्रममा उनीहरू भिसाको उद्देश्यविपरीत धार्मिक गतिविधिमा संलग्न रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नियन्त्रणमा लिइएको उनले बताए।

कोइरालाका अनुसार, अध्यागमन नियमावली, २०५१ को नियम २० को उपनियम (२) बमोजिम पर्यटक भिसाको दुरुपयोग गरेको देखिएकाले थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनीहरूलाई काठमाडौंस्थित अध्यागमन विभागमा पठाउने तयारी गरिएको छ।

मोरङ जिल्लामा पछिल्लो समय विदेशी नागरिकको आवागमन बढ्दै गएको र पर्यटक भिसाको दुरुपयोग गरी गैरकानुनी गतिविधि हुने गरेको आशंकापछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अध्यागमन जिल्ला समन्वय समितिले निगरानी कडा बनाएको प्रशासनले जनाएको छ।

नियन्त्रणमा लिइएका दक्षिण कोरियाली नागरिकमाथि निष्कासन (डिपोर्ट) लगायतका कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा अध्यागमन विभागले आवश्यक निर्णय लिनेछ।

यसअघि पनि विराटनगरबाट दुई जना चिनियाँ नागरिक पक्राउ परेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka