Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा २ अर्ब ५४ करोड अनुदानको खानेपानी परियोजना सम्पन्न

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | बिहान १०:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित विराटनगरको खानेपानी परियोजना निर्माण सम्पन्न भएको छ। आयोजनाको मुख्य निर्माण कार्य सकिएसँगै विद्युत् जडानलगायतका केही प्राविधिक काम पूरा गरी दसैंअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

परियोजना सम्पन्न भएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शनिबार आयोजनाको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा देवकोटा चोकस्थित खानेपानी संस्थान परिसरमा निर्माण गरिएका संरचनाको अवलोकन गर्दै उनले पानी उत्पादन तथा प्रशोधन प्रक्रियाबारे जानकारी लिएका थिए।

विज्ञापन

जाइकाले परियोजना स्वीकृत गरेपछि जग्गा, सडक र विद्युत्सम्बन्धी समस्या समाधान गर्न मेयर कोइरालाले सहजीकरण गरेका थिए। त्यसकै परिणामस्वरूप सन् २०२६ अक्टोबरमा सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना निर्धारित समयभन्दा करिब दुई वर्षअघि नै निर्माण सम्पन्न भएको जनाइएको छ।

निरीक्षणपछि मेयर कोइरालाले विराटनगरवासीलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा हुने चरणमा पुगेको भन्दै खुसी व्यक्त गरे। उनले परियोजना सञ्चालनमा आएपछि नगरवासीले नियमित रूपमा शुद्ध खानेपानी प्राप्त गर्ने अपेक्षा व्यक्त गरे।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार आयोजनाको मुख्य निर्माण कार्य पूरा भइसकेको छ। अहिले विद्युत् जडानलगायतका केही प्राविधिक काम मात्र बाँकी छन्। ती काम तत्काल सम्पन्न गरी दसैंअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए। जाइकाले आगामी बिहीबार खानेपानी संस्थानलाई परियोजना औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

परियोजना सञ्चालनमा आएपछि विराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमता उल्लेख्य रूपमा बढ्नेछ। हाल दैनिक करिब ९० लाख लिटर पानी वितरण हुँदै आएकोमा नयाँ प्रणालीमार्फत दैनिक १ करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिनेछ।

परियोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ। यसका साथै पुराना संरचनाको सुधार, नयाँ ओभरहेड ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा विद्युत् आपूर्ति क्षमतामा वृद्धि गरिएको छ।

अब विराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ र विराटनगर–५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गरिनेछ। कोचाखाल पश्चिममा नयाँ ओभरहेड ट्याङ्कीसमेत निर्माण गरिएको छ। पाइपलाइन र फिल्टर प्रणालीको क्षमता बढाइएकाले उपभोक्ताले नियमित तथा गुणस्तरीय खानेपानी पाउने अपेक्षा गरिएको छ।

हाल विराटनगरमा नेपाल खानेपानी संस्थानका करिब १३ हजार २०० ग्राहक छन्। नयाँ परियोजना सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन र तीव्र रूपमा बढिरहेको सहरी जनसङ्ख्याको माग पूरा गर्न सहज हुने विश्वास गरिएको छ।

विगतमा दूषित खानेपानीका कारण विराटनगरमा जन्डिस फैलिँदा १४ जनाको मृत्यु भएको घटना पनि रहेको छ। यस्ता समस्यालाई ध्यानमा राख्दै महानगरपालिकाले स्वच्छ खानेपानीसहित व्यवस्थित विराटनगर निर्माण गर्ने लक्ष्य अघि सारेको छ। नयाँ परियोजना सञ्चालनमा आएपछि महानगरको उक्त लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka