काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन् । आइतबार भएको प्रदर्शनमा प्रहरीका सवारीसाधन, प्रहरी चौकी र सार्वजनिक संरचनामा क्षति पुगेको छ ।
हसिनाको समर्थनमा उत्रिएका प्रदर्शनकारीले प्रहरीका अवरोध हटाउँदै सहरका विभिन्न क्षेत्रमा जुलुस निकालेका थिए । उनीहरूले सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध पारेका थिए ।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीले गोपालगञ्जस्थित जुलाई स्मारक र गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालय परिसरमा रहेको हादी चोकको नामपट्टिका तोडफोड गरेका छन् । केही सरकारी संरचनाका नामपट्टिका हटाएर पुराना नामसमेत राखिएको छ ।
प्रदर्शनमा सहभागीहरूले हसिना र अवामी लिगको समर्थनमा नाराबाजी गरेका थिए । आइतबार बिहानैदेखि जिल्लाका विभिन्न क्षेत्रबाट मोटरसाइकल, रिक्सा, बस र ट्रकमा प्रदर्शनकारी गोपालगञ्ज पुगेका थिए । उनीहरू दिउँसो करिब १२ बजे बीएसआईसी पुल क्षेत्रबाट जुलुससहित निस्किएका थिए । प्रदर्शन दिउँसो १ः४५ बजेसम्म चलेको थियो ।
प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सरुवा
प्रदर्शनका क्रममा भएको तोडफोडपछि बंगलादेश सरकारले गोपालगञ्जका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ ।
द डेली स्टारका अनुसार जिल्ला प्रहरी प्रमुख मोहम्मद हबीबुल्लाहलाई फेनी जिल्लामा सरुवा गरिएको छ । उनको स्थानमा फेनीका प्रहरी प्रमुख प्रत्युष कुमार मजुमदारलाई पठाइएको छ ।
त्यस्तै, गोपालगञ्जका प्रमुख जिल्ला अधिकारी मोहम्मद आरिफ उज्जमानलाई सार्वजनिक प्रशासन मन्त्रालयमा तानिएको छ । उनको स्थानमा हबीगञ्जका प्रमुख जिल्ला अधिकारी जीएम सरफराजलाई जिम्मेवारी दिइएको छ ।
जिल्लाका तीन प्रहरी चौकीका प्रमुखलाई समेत सरुवा गरिएको छ । घटनापछि सुरक्षा व्यवस्था कडा पार्दै प्रहरी, सीमावर्ती सुरक्षा बल बंगलादेश (बीजीबी) लगायतका सुरक्षा निकाय परिचालन गरिएको छ । युनाइटेड न्युज अफ बंगलादेशका अनुसार गोपालगञ्जमा करिब १५० बीजीबी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
डिसेम्बरमा स्वदेश फर्किने हसिनाको घोषणा
यसैबीच, पूर्वप्रधानमन्त्री हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएकी ७९ वर्षीया हसिना त्यसयता भारतमा बस्दै आएकी छन् ।
आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि कानुनी लडाइँ जारी राख्ने र स्वदेश फर्केर अदालतमा उपस्थित हुने उनको भनाइ छ ।
हसिनाका कानुन व्यवसायीले नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र जारी गरिदिन आग्रह गर्दै नयाँदिल्लीस्थित बंगलादेशी कूटनीतिक नियोगमा पत्र पठाएका थिए । तर बंगलादेश सरकारले उक्त माग अस्वीकार गरेको समाचार सार्वजनिक भएको छ ।
द एसोसिएटेड प्रेसका अनुसार हसिनाका सहयोगी अबु ओबैदाह आरिनले उनी डिसेम्बरसम्म बंगलादेश फर्किने तयारीमा रहेको बताएका छन् ।
भारतसँग हसिनाको सुपुर्दगी माग
बंगलादेश सरकारले हसिनालाई भारतबाट फिर्ता ल्याउन सुपुर्दगी सन्धिअनुसार प्रक्रिया अघि बढाएको छ ।
बंगलादेशका कानुनमन्त्री मोहम्मद असदुज्जमानले हसिनालाई स्वदेश फर्काउन आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको बताएका छन् । अब भारतको निर्णय पर्खिरहेको उनको भनाइ छ ।
भारतले भने हसिनालाई सुपुर्दगी गर्ने विषयमा अन्तिम निर्णय सार्वजनिक गरेको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नोभेम्बर १० मा यो कानुनी विषय भएकाले सोहीअनुसार सम्बोधन गरिने बताएका थिए ।
बंगलादेशले हसिनाको फिर्तीलाई भारतसँगको द्विपक्षीय सम्बन्धसँग पनि जोड्दै आएको छ । हसिना र अन्य फरार व्यक्तिको स्वदेश फिर्तीले दुई देशबीचको सम्बन्ध सुधारमा सहयोग पुग्ने ढाकाको अपेक्षा छ ।
मानवताविरुद्धको अपराधमा मृत्युदण्डको फैसला
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२५ नोभेम्बर १७ मा हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अनुपस्थितिमै मृत्युदण्ड सुनाएको थियो ।
सन् २०२४ को विद्यार्थी आन्दोलन दबाउने क्रममा भएको हिंसात्मक कारबाहीमा भूमिका खेलेको अभियोगमा उनलाई दोषी ठहर गरिएको थियो । सोही मुद्दामा पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मृत्युदण्ड सुनाइएको थियो ।
हसिनाले भने आफूमाथिका अभियोग र अदालतको फैसलालाई अस्वीकार गर्दै आएकी छन् । मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले पनि अभियुक्तको अनुपस्थितिमा गरिएको सुनुवाइ र मृत्युदण्डको फैसलालाई लिएर निष्पक्ष सुनुवाइको विषय उठाएको थियो ।
सन् २०२४ को आन्दोलनपछि सत्ताच्युत भएकी हसिनाको स्वदेश फिर्तीको घोषणासँगै बंगलादेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ । उनको गृहजिल्ला गोपालगञ्जमा भएको पछिल्लो प्रदर्शनले अवामी लिग समर्थक र सरकारबीचको तनावलाई पुनः सतहमा ल्याएको छ ।
