Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकामा हवाई सेवा अस्तव्यस्त, आइतबार मात्रै १० हजारभन्दा बढी उडान प्रभावित

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक ३०, २०८३  | बिहान ८:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकामा लगातार तेस्रो दिन पनि हवाई सेवा प्रभावित भएको छ। आइतबार मात्रै १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ हुँदा हजारौँ यात्रु समस्यामा परेका छन्।

उड्डयनसम्बन्धी तथ्यांक राख्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकाभर २ हजार ३०० भन्दा बढी उडान रद्द भएका थिए भने करिब ७ हजार ७०० उडान ढिलाइ भएका थिए।

विज्ञापन

यसअघि शनिबार पनि ६ हजार ४०० भन्दा बढी उडान रद्द भएका थिए भने ८ हजारभन्दा बढी उडान ढिलाइ भएका थिए। शुक्रबारदेखि सुरु भएको हवाई अवरोधका कारण अमेरिकी विमानस्थलहरूमा यात्रुहरू अलपत्र परेका छन्।

अमेरिकी यातायातमन्त्री सिन डफीले सोमबारसम्म हवाई सेवा सामान्य अवस्थामा फर्किने अपेक्षा गरेका छन्। तर विमान कम्पनीहरूले उडान तालिका र चालक दलको व्यवस्थापन मिलाउन अझै संघर्ष गरिरहेका छन्।

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार करिब पाँच घण्टासम्म देशभरका प्रस्थान गर्ने अधिकांश उडान रोकेको थियो। हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या देखिएपछि यात्रु सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको थियो। सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकामा भएको यो सबैभन्दा लामो राष्ट्रव्यापी हवाई सेवा अवरोध हो।

प्रारम्भिक अनुसन्धानअनुसार अर्कान्सासको एल डोराडोस्थित एफएए केन्द्रमा राउटर परिवर्तन गर्ने क्रममा टेक्सासको अमारिलोस्थित अर्को राउटरमा समस्या उत्पन्न भएको थियो। त्यसपछि अत्यधिक तथ्यांक प्रवाह हुँदा देशभरका हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणाली प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

एफएएका अनुसार समस्या उत्पन्न गर्ने राउटर निष्क्रिय पारिएको छ। त्यस्तै, यस्तै प्रकृतिका अन्य करिब ६० वटा राउटरमा पनि सावधानीका उपाय अपनाइएको छ। तर प्राविधिक समस्या उत्पन्न हुनुको वास्तविक कारण भने अझै पत्ता लाग्न सकेको छैन।

अमेरिकी अधिकारीहरूले साइबर आक्रमण वा नियोजित रूपमा प्रणालीमा अवरोध सिर्जना गरिएको कुनै प्रमाण फेला नपरेको बताएका छन्। घटनाका कारण विमानस्थलमा यात्रुहरूले घण्टौँ कुर्नुपरेको थियो भने कतिपयले विमानस्थलमै रात बिताउनुपरेको थियो। युरोप र बेलायतबाट अमेरिका आउने तथा अमेरिकाबाट बाहिरिने अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएका थिए।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई यातायात नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि थप बजेट स्वीकृत गर्न संसद्लाई आग्रह गरेका छन्। यातायातमन्त्री सिन डफीले प्रणालीको पूर्ण स्तरोन्नतिका लागि ५० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन्।

सन् २०२५ मा यस प्रयोजनका लागि १२ अर्ब ५० करोड डलर स्वीकृत भए पनि त्यसको करिब ११ अर्ब डलर खर्च हुन बाँकी रहेको भन्दै विपक्षी डेमोक्रेटिक सांसदहरूले थप बजेट माग्नुको औचित्यमाथि प्रश्न उठाएका छन्।

पुरानो प्रविधि, उपकरणमा देखिने समस्या र हवाई ट्राफिक नियन्त्रकको अभावले अमेरिकी हवाई सेवा प्रणाली लामो समयदेखि चुनौतीमा पर्दै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka