विराटनगर । छठ पर्वको अवसरमा विराटनगरमा ३५१ जना श्रद्धालुलाई निःशुल्क पूजा सामग्री वितरण गरिएको छ ।
आर्थिक रूपमा कमजोर तथा अन्य श्रद्धालुलाई छठ पर्व मनाउन सहयोग पुर्याउने उद्देश्यले शुक्रबार विराटनगर महानगरपालिका–९ स्थित पुरानो गुद्रीमा सामग्री वितरण गरिएको हो ।
आज दिउँसो एक कार्यक्रम आयोजना गरी ३५१ जना श्रद्धालुलाई छठ पूजाका लागि आवश्यक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी तथा विभिन्न दाताहरूले आर्थिक र भौतिक सहयोग गरेका थिए । कुल १६ जना दाताको सहयोगमा पूजा सामग्री वितरण गरिएको हो ।
सहयोगी श्रीप्रकाश तोतलाका अनुसार अन्य सहयोगीमा रामप्रवेश साह एन्ड सन्स, रामनरेश साह एन्ड सन्स, नागेन्द्र ट्रेडर्स, शंकर फुट सेन्टर, श्री बालाजी एडभरटाइजिङ, अशोक अग्रवाल, शिव सुन्दर ज्वेलर्स, कमल अटो पार्ट्स, पारदर्शी बचत तथा ऋण सहकारी संस्था, राहुल रस्का गुप्ता, राजकुमार साह, देवराज बिल्डर्स, डा. रतन जैन, विजय अटो वर्क्स र ज्योति मरिक रहेका छन् ।
तोतलाले भने,” सन्तान सुख, समृद्धिकी देवी छठीमैयाको आशिर्वादले यो सामग्री वितरण गरेका छौं । हामी एउटा माध्यम मात्र हो, सबै गरेको छठी मैयाले नै हो ।”
सामूहिक सहयोग र सामाजिक उत्तरदायित्वको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । निःशुल्क पूजा सामग्री पाएपछि श्रद्धालुहरूले छठ पर्व मनाउन सहजता भएको बताइएको छ।


