Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

चीनमा ट्रम्प, पुटिन र सी जिनपिङबीच पहिलो त्रिपक्षीय भेटवार्ता हुँदै

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक ३०, २०८३  | बिहान ८:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनमा पहिलोपटक संयुक्त भेटवार्ता हुने भएको छ।

तीनै देशका राष्ट्रप्रमुखबीच आगामी बिहीबार (नोभेम्बर १९) चीनको सेन्जेन सहरमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा भेटवार्ता हुन लागेको हो। ह्वाइट हाउस र क्रेमलिनले यसबारे पुष्टि गरिसकेका छन्।

विज्ञापन

विश्वका तीन प्रमुख आणविक शक्ति राष्ट्रका नेताबीच हुन लागेको यो पहिलो त्रिपक्षीय भेटवार्तालाई अन्तर्राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार भेटवार्तामा विश्वभर आणविक हतियारको भण्डार घटाउने विषय प्रमुख प्राथमिकतामा रहनेछ। त्यस्तै, इरानसँग जारी युद्ध र त्यसले विश्व सुरक्षामा पारेको प्रभावबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले ट्रम्पले विश्वको आणविक हतियार भण्डार घटाउने विषयमा छलफल गर्न चाहेको बताएकी छन्। अमेरिकाले आणविक हतियारको विस्तारलाई विश्व सुरक्षाका लागि खतरनाक मान्दै आएको छ।

अमेरिका र रुससँग विश्वकै सबैभन्दा ठूलो आणविक हतियार भण्डार छ भने चीनले पनि आफ्नो आणविक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको छ। त्यसैले तीनै देशलाई समेटेर नयाँ आणविक हतियार नियन्त्रणसम्बन्धी सहमति खोज्ने अमेरिकी प्रयासका रूपमा यो बैठकलाई हेरिएको छ।

तर तीन नेताबीचको छलफलबाट तत्काल कुनै ठोस सम्झौता हुने अपेक्षा भने गरिएको छैन। अमेरिकी अधिकारीहरूले यसलाई आणविक हतियार नियन्त्रणका विषयमा उच्चस्तरीय संवाद सुरु गर्ने प्रारम्भिक अवसरका रूपमा व्याख्या गरेका छन्।

यसपटकको त्रिपक्षीय बैठकमा रुस–युक्रेन युद्ध भने औपचारिक एजेन्डामा नरहने अमेरिकी अधिकारीहरूले बताएका छन्। युक्रेन युद्धबारे अमेरिका र रुसबीच छुट्टै माध्यमबाट वार्ता भइरहेको छ।

रुसी राष्ट्रपति पुटिनका लागि पनि यो भेटवार्ता महत्त्वपूर्ण मानिएको छ। सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी देशहरूको दबाब र प्रतिबन्ध खेपिरहेका पुटिनले विश्वका दुई ठूला शक्तिका नेतासँग एउटै मञ्चमा भेट गर्ने अवसर पाउँदैछन्।

यता चीनका राष्ट्रपति सी जिनपिङका लागि भने यो बैठक विश्व राजनीतिमा चीनको प्रभाव प्रदर्शन गर्ने अवसरका रूपमा रहने विश्लेषण गरिएको छ। यद्यपि आणविक हतियार नियन्त्रणको विषयमा चीनलाई अमेरिका र रुससरहको प्रतिबद्धतामा ल्याउन सहज नहुने विश्लेषकहरूको धारणा छ।

तीन शक्तिराष्ट्रका नेताहरूको यो भेटलाई सन् १९४५ को याल्टा सम्मेलनसँग समेत तुलना गर्न थालिएको छ। दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिका, बेलायत र सोभियत संघका नेताहरूले याल्टामा गरेको बैठकले तत्कालीन विश्व व्यवस्थामा ठूलो प्रभाव पारेको थियो। तर क्रेमलिनले सेन्जेनमा हुने बैठकबाट अन्य देशमाथि कुनै सहमति थोपर्ने उद्देश्य नरहेको स्पष्ट पारेको छ।

यसअघि ट्रम्पले फिलिपिन्सको मनिलामा हुने आसियान सम्मेलनमा सहभागी भएपछि चीन भ्रमण गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले सी जिनपिङसँग छुट्टै द्विपक्षीय भेटवार्ता र कार्यभोजसमेत गर्नेछन्। त्यसपछि पुटिनसहितको त्रिपक्षीय बैठक हुनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka