Premier Cables
Premier Steel

विराटनगर

छठ पूजास्थलमा फोहोर फाल्न र बाँध खन्न विराटनगर महानगरको रोक, चारबुँदे निर्देशन जारी

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २८, २०८३  | अपराह्न २:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । छठ पर्वलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउन विराटनगर महानगरपालिकाले पूजा आयोजक तथा श्रद्धालुका लागि चारबुँदे सरसफाइ निर्देशन जारी गरेको छ। महानगरले खोला, नहर र पोखरीमा फोहोर फाल्न रोक लगाउँदै पूजापछि निस्कने सामग्रीको उचित व्यवस्थापन गर्न आग्रह गरेको हो।

छठ पर्वका अवसरमा जलाशय तथा पूजास्थलको सरसफाइ र संरक्षणलाई प्राथमिकता दिँदै महानगरले सचेतनामूलक अभियानसमेत सञ्चालन गरेको छ। यसक्रममा शनिबार नगर प्रहरी प्रमुख राजन पौडेल र प्रहरी निरीक्षक तीर्थजंग कार्कीसहितको टोलीले विभिन्न पूजास्थलमा पुगेर आयोजक समितिलाई सरसफाइसम्बन्धी सन्देश लेखिएका ब्यानर हस्तान्तरण गरेको छ।

विज्ञापन

महानगरको टोलीले सिंघिया र केशलिया खोला, पिचरा नहर, पाञ्चाली नहर, केशलिया नहर तथा मण्ठापोखरीलगायतका छठ पूजास्थलमा पुगेर ब्यानर वितरण गरेको हो। वितरित ब्यानर सबैले सहजै देख्ने स्थानमा राख्न पनि महानगरले आग्रह गरेको छ। टोलीले पिचरा नहर छठ पूजा आयोजक समितिका अध्यक्ष ब्रह्मकुमार सहनी र पाञ्चाली नहर छठ पूजा समितिका अध्यक्ष टुनटुन शर्मालगायतलाई ब्यानर हस्तान्तरण गरेको थियो।

महानगरले जारी गरेको निर्देशनमा घर, पसल तथा कलकारखानाबाट निस्कने फोहोर खोला, नहर र पोखरीमा नफाल्न भनिएको छ। त्यसैगरी छठ पूजाका लागि घाट निर्माण गर्दा निस्कने झारपात तथा अन्य फोहोर पानीमा नफाल्न र नहरको डिल तथा बाँध खनेर क्षति नपुर्‍याउन सचेत गराइएको छ।

पूजा सम्पन्न भएपछि प्रयोग गरिएका केराका थम्बा, पात, फूल तथा अन्य पूजासामग्री जलाशयमा विसर्जन नगरी आफैंले सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्ने निर्देशनमा उल्लेख छ। छठ पर्वका बेला ठूलो संख्यामा श्रद्धालु खोला, नहर र पोखरीमा भेला हुने भएकाले पूजास्थलको सरसफाइसँगै जलस्रोतको संरक्षण पनि उत्तिकै महत्वपूर्ण हुने महानगरको निष्कर्ष छ।

धार्मिक आस्था र सांस्कृतिक परम्पराको सम्मान गर्दै सार्वजनिक सम्पत्ति तथा प्राकृतिक स्रोतको संरक्षणमा सबैको सहभागिता आवश्यक रहेको महानगरले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka