विराटनगर । पूर्वी नेपालका होटलहरूमा पर्यटकको आगमन घटेसँगै होटल अकुपेन्सी दरमा समेत गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशका होटलहरूको औसत अकुपेन्सी ३२ प्रतिशतमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो दर ३९.२ प्रतिशत थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा आएको कमीले प्रदेशको होटल तथा पर्यटन व्यवसाय प्रभावित भएको हो।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा अध्ययनमा समेटिएका होटलहरूमा विदेशी पर्यटकको आगमन २१.८ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा भने विदेशी पर्यटकको आगमन २८.६ प्रतिशतले बढेको थियो।
गत आर्थिक वर्षमा कोशी प्रदेशमा कुल ४७ हजार ४५७ जना विदेशी पर्यटक पुगेका थिए। यस अवधिमा चीनबाट आउने पर्यटकको संख्यामा केही वृद्धि देखिए पनि भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा घटेको छ। अन्य मुलुकबाट आउने पर्यटकको संख्यामा समेत गिरावट आएको प्रतिवेदनले देखाएको छ।
पर्यटन गतिविधिमा आएको सुस्तताको प्रभाव हवाई सेवामा समेत देखिएको छ। कोशी प्रदेशमा सञ्चालन भएका उडानको संख्या अघिल्लो आर्थिक वर्षको ५३ हजार ५३० बाट घटेर ५० हजार ९२६ मा झरेको छ। यो ४.९ प्रतिशतको गिरावट हो।
त्यस्तै, हवाई यात्रुको संख्या पनि अघिल्लो वर्षको १२ लाख ४६ हजार ८०५ बाट घटेर १२ लाख १७ हजार ३८१ पुगेको छ।
पर्यटनको सम्भावना भने उत्तिकै
पर्यटक आगमनमा कमी आए पनि कोशी प्रदेशमा पर्यटन विकासको सम्भावना पर्याप्त रहेको प्रतिवेदनले औँल्याएको छ। विशेषगरी स्वास्थ्य पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटन तथा प्रकृतिमा आधारित पर्यटनको विकास गर्न सकिने अवसर रहेको उल्लेख गरिएको छ।
हिमाल, पहाड र तराईको भौगोलिक विविधता रहेको कोशी प्रदेशमा पर्यटनका विभिन्न क्षेत्र विस्तार गर्न सकिने सम्भावना छ। तर जलवायु परिवर्तन र प्राकृतिक विपद्को बढ्दो जोखिमलाई पर्यटन विकासका चुनौतीका रूपमा लिइएको छ।
प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ४९.८५ प्रतिशत रहेको छ। मुलुकको समग्र सेवा क्षेत्रमा कोशी प्रदेशको योगदान १२.७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रदेशमा सुविधासम्पन्न तथा तारे होटलको संख्या बढ्दै जानुले विवाह समारोह, सभा-सम्मेलन, व्यावसायिक बैठक, धार्मिक भ्रमण तथा मनोरञ्जनात्मक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ।
सगरमाथा, कञ्चनजङ्घा, मकालु-बरुण राष्ट्रिय निकुञ्ज, श्रीअन्तु, भेडेटार र तीनजुरे-मिल्के-जलजलेलगायतका पर्यटकीय क्षेत्रले पदयात्रा, साहसिक पर्यटन, दृश्यावलोकन तथा पर्यावरणीय पर्यटनको ठूलो सम्भावना बोकेका छन्।
त्यसैगरी पाथीभरा देवी मन्दिर, हलेसी महादेव, बराहक्षेत्र र रामधुनीजस्ता धार्मिक स्थलका साथै किरात समुदायको मौलिक संस्कृति र परम्पराले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।
पर्यटक आगमनमा आएको गिरावटले होटल व्यवसायमा चुनौती थपिए पनि पर्यटन पूर्वाधारको विकास, प्रभावकारी प्रचारप्रसार र नयाँ पर्यटकीय उत्पादनको पहिचान गर्न सके कोशी प्रदेशको पर्यटन क्षेत्रलाई पुनः गतिशील बनाउन सकिने सम्भावना रहेको प्रतिवेदनको निष्कर्ष छ।
