विराटनगर । विराटनगरमा यस वर्षको ऐतिहासिक ५९औँ श्री राधाकृष्ण रथयात्रा भदौ २० गते निकालिने भएको छ। प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको रथयात्रा यस वर्ष भने भदौ २० गते आयोजना हुन लागेको हो।
विराटनगरमा विक्रम संवत् १९८८ सालदेखि ‘खट’ यात्राबाट सुरु भएको राधाकृष्ण यात्रा २०२५ सालदेखि खटसँगै रथयात्राका रूपमा सञ्चालन हुँदै आएको हो। यस वर्ष खट यात्राको ९६औँ तथा रथयात्राको ५९औँ संस्करण आयोजना हुन लागेको हो।
दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राका रूपमा परिचित विराटनगरको राधाकृष्ण रथयात्रामा नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतबाट समेत लाखौँ भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीसहित निकालिने रथले विराटनगर बजार क्षेत्रको करिब ९ किलोमिटर दूरी तय गर्नेछ। रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड हुँदै बरगाछी पुगेर पुनः राधाकृष्ण मन्दिर परिसरमा आएर समापन हुनेछ। यात्राका क्रममा विभिन्न ४४ स्थानमा रथलाई विश्राम गराइनेछ।
पेगोडा शैलीमा निर्माण गरिएको रथ १९ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रहेको छ। यस वर्षको रथयात्रामा ६० भन्दा बढी झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने तयारी गरिएको छ।
रथयात्राको तयारीलाई तीव्रता दिँदै गत शनिबार बसेको बैठकले २१ सदस्यीय विभिन्न उपसमिति गठन गरेको श्री राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए। रथयात्रालाई व्यवस्थित बनाउन विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पत्राचार गर्ने काम भइरहेको उनले बताए।
अध्यक्ष रेग्मीका अनुसार यस वर्षको रथयात्रामा प्रधानमन्त्रीलाई समेत निमन्त्रणा गर्ने तयारी गरिएको छ। साथै छिमेकी स्थानीय तहका प्रमुखहरूलाई पनि रथयात्रामा सहभागी हुन निमन्त्रणा गरिने तयारी भइरहेको उनले जानकारी दिए।
रथयात्रालाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन आयोजक समितिले विभिन्न निकायसँग समन्वय गर्दै तयारी अघि बढाइरहेको छ।
