जनकपुरधाम । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ।
गृहमन्त्री सुदन गुरुङ बिहीबार राति मृतक यादवको घर औरही गाउँपालिका–२, तुलसियाही पुगेर परिवारसँग छलफल गरेका थिए। त्यसपछि गृहमन्त्री गुरुङ र मृतकका बुबा रामवृक्ष यादवबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने छ। साथै मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने, परिवारका एक योग्य सदस्यलाई रोजगारी प्रदान गरिने, भाइबहिनीको निःशुल्क शिक्षाको व्यवस्था मिलाइने तथा बुबा–आमाको सरकारी अस्पतालमा निःशुल्क उपचार सुनिश्चित गरिने उल्लेख गरिएको छ।
यस्तै, गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने र मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।
सहमतिअनुसार शुक्रबार (साउन १६ गते) गणेश यादवको दाहसंस्कार गरिनेछ।
सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
