काठमाडौं । नेपाली कांग्रेस ले प्रदेश र स्थानीय तह केन्द्रित कार्यक्रमअन्तर्गत सातै प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो बैठकले भेलाको मिति र स्थान तय गरेको हो ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको प्रतिष्ठानको बैठकले प्रदेशगत रूपमा भेला सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
निर्धारित कार्यक्रमअनुसार सुदूरपश्चिम प्रदेशको भेला वैशाख २६ र २७ गते धनगढीमा हुनेछ भने कर्णाली प्रदेशको भेला वैशाख २८ र २९ गते सुर्खेतको लेकवेसीमा आयोजना गरिनेछ ।
त्यसैगरी गण्डकी प्रदेशको भेला वैशाख ३१ र जेठ १ गते पोखरामा हुनेछ । बागमती प्रदेशको भेला जेठ ४ र ५ गते धुलिखेलमा आयोजना गरिने कांग्रेसले जनाएको छ ।
मधेस प्रदेशको भेला जेठ ६ र ७ गते महोत्तरीको बर्दिवासमा हुनेछ भने कोशी प्रदेशको भेला जेठ ८ र ९ गते सुनसरीको लौकीमा आयोजना गरिने तय भएको छ ।
यस्तै, लुम्बिनी प्रदेशको भेला जेठ १४ र १५ गते तिलोत्तमामा सञ्चालन हुने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
