विराटनगर । कांग्रेस केन्द्रीय समितिको बैठक पर्सि(आइतबार) बिहान ८ बजे फेरि बस्ने भएको छ । शुक्रबार बसेको बैठकमा चुनावी समीक्षाका साथै सभापति गगन कुमार थापाको राजीनामाको विषयमा छलफल भएको थियो । केन्द्रीय सदस्य केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आईतबार फेरि बैठक बस्ने जानकारी दिएका छन् ।
बैठकले प्रतिनिधिसभा निर्वाचन ०८२ को प्रारम्भिक समीक्षा सार्वजनिक गर्दै परिणामलाई लोकतान्त्रिक संस्कारअनुसार स्वीकार गरेको छ। पार्टीले मतदाताप्रति आभार व्यक्त गर्दै आफू जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
समीक्षामा कांग्रेस दोस्रो दलमा सीमित हुनुको मुख्य कारण लामो समयदेखिको जनअसन्तुष्टि, राजनीतिक अस्थिरता, गठबन्धनप्रति बढ्दो वितृष्णा, नेतृत्वप्रति विश्वासको कमी र प्रभावकारी सञ्चार अभावलाई औंल्याइएको छ। साथै, भ्रष्टाचार, ढिलासुस्ती, गुटबन्दी, अति राजनीतिकरण र नीतिगत कमजोरीले पनि परिणाम प्रभावित गरेको निष्कर्ष निकालिएको छ।
पार्टीले विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वलाई पर्याप्त समय नपाएको उल्लेख गर्दै सभापति गगन थापाको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको जनाएको छ। वर्तमान परिस्थितिमा नेतृत्व परिवर्तनभन्दा पार्टी सुदृढीकरण र एकतामा जोड दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ।
कांग्रेसले अब गहिरो समीक्षा गर्दै संगठन सुधार, नीति स्पष्टता र जनतासँगको सम्बन्ध सुदृढ बनाउँदै आगामी दिनमा नयाँ ऊर्जा सहित अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
