विराटनगर । नेपाली कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार फेरि प्रतिनिधिसभा निर्वाचनमा होमिन तयारी अवस्थामा छन्।
२०४८ सालदेखि निरन्तर चुनावी मैदानमा उत्रँदै आएका गच्छदारले यसबीचमा ७ पटक प्रतिस्पर्धा गरिसकेका छन्। ७१ वर्षीय नेता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा आठौँ पटक प्रतिस्पर्धा गर्न लागेका हुन्।
गच्छदारको निर्वाचन क्षेत्र सुनसरी–३ हो। लामो समयदेखि संसदीय राजनीतिमा सक्रिय उनी २०७९ को निर्वाचनमा पहिलोपटक पराजित भएका थिए।
एमालेकी भगवती चौधरीसँग हार व्यहोरेपछि गच्छदारले पुनः चुनावी मैदान फर्कन क्षेत्रीय नेतृत्वसमक्ष आफ्नो एकल नाम सिफारिस गर्न चाहेका थिए। तर, क्षेत्रीय समितिले गच्छदारसहित तीन व्यक्तिको नाम सिफारिस गरेको छ।
सिफारिसमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र ओम थापा परेका छन्। दुहबीका मेयर वेदनारायण, विजयकुमार गच्छदारका भतिज हुन्।
नेपाली कांग्रेस सुनसरी जिल्ला समिति सचिव विरेन्द्र साहका अनुसार क्षेत्रीय सिफारिस हालसम्म जिल्ला समितिमा दर्ता नभएको बताए। ‘गच्छदारको एकल नाम सिफारिस गर्ने पहल भए पनि तीन जनाको नाम आएको मौखिक जानकारी छ, लिखित रूपमै भने आएको छैन,’ उनले भने। उनका अनुसार जिल्ला समिति भोलि बस्ने बैठकमा क्षेत्रीय सिफारिस पेश हुनेछ।
गच्छदार २०४८ यताका सातै निर्वाचनमा सहभागी भएका थिए र तीमध्ये छ पटक विजयी भएका थिए। २०७९ को हार उनको पहिलो पराजय हो। २०४८ देखि २०७४ सम्म १२ पटक मन्त्री बनेका उनी २०७४ मा उपप्रधान तथा स्थानीय विकास मन्त्री पदपछि राजनीतिमा प्रभाव घट्दै गएको देखिन्छ।
गच्छदारले २०४८, २०५१, २०५६ र २०७४ को निर्वाचन कांग्रेसबाट जितेका थिए। मधेश आन्दोलनका क्रममा उनी कांग्रेस छाडेर मधेशी जनअधिकार फोरममा प्रवेश गरे र २०६४ को पहिलो संविधानसभा निर्वाचन पनि त्यही पार्टीबाट जिते। पछि पार्टी फुटाएर मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गर्दै २०७० को संविधानसभा निर्वाचनमा पुनः विजयी भए।
दश वर्षपछि उनी पुनः कांग्रेस फर्किए र २०७४ सालमा कांग्रेसका तर्फबाट विजयी भए। उक्त निर्वाचनमा गच्छदारले भगवती चौधरीलाई ३२१ मतले हराएका थिए।
हाल आठौँ पटक चुनाव लड्ने तयारीमा रहेका गच्छदार ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिँदै आएका छन्।
विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको अवस्थामा उनी केही समय भूमिगत बसेका थिए। २०७८ असार ३० गते १० लाख धरौटीमा रिहा भएपछि पुनः सक्रिय राजनीतिमा फर्किएका गच्छदारले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।
अन्य क्षेत्रका सिफारिस
सुनसरी–१ :
मीनबहादुर विश्वकर्मा, उमेश थापा, चन्द्रशेखर लामा, निर्मला गुरुङ, माधवबहादुर घिसिङ, रुक्मिना गौतम, विनोदकुमार राई र सन्दीप श्रेष्ठ।
सुनसरी–२ :
राजीव कोइराला, राजीव ढुँगाना र सीताराम मेहता।
सुनसरी–४ :
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डिल्लीबहादुर कार्की, गफार अन्सारी, अबुल अन्सारी र नवीन श्रेष्ठ।
