काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनहरू पारित भएको छ ।
बन्दसत्रको हलमा उनीहरूले हिजो छुट्टाछुट्टै दुईवटा प्रतिवेदन पेश गरेका थिए ।
उक्त प्रतिवेदनहरूमाथि समूहगत छलफल भएर टोली नेताले निष्कर्ष सुनाएका थिए । लगत्तै आजै बन्दसत्रबाट उक्त प्रतिवेदनहरू पारित भएका हुन् ।
महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यसमिति चयनका लागि उमेदवारी दर्ता खुला भएको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीले उमेदवारी दर्ता गर्न अनुमति दिएसँगै उमेदवारी दर्ता खुला भएको सूचना जारी गरिएको छ ।
उमेदवारी दर्ताको समय १ घण्टाका लागि तोकिएको छ ।
उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका भने बुधबार (पुस ३०)का लागि सारिएको छ । आज मनोनयन दर्ता भइसकेपछि बाँकी निर्वाचन तालिका भने भोलिबाट कार्यान्वयनमा आउने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केसीले जानकारी दिएका छन् ।
मनोनयनपत्र दर्ताका निम्ति यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो । पछि मनोनयनपत्र बेलुका ५ बजेपश्चात् दर्ता गरिने भनिएको थियो । त्यसपछि पनि साँझ साढे ६ बजेका लागि सारिएको थियो ।
कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।
