Premier Cables
Premier Steel

राजनीति

कांग्रेसमा ३ लाखले गरे क्रियाशील सदस्यता अद्यावधिक, इतर पक्षको असन्तुष्टि कायमै

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २०, २०८३  | बिहान ९:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत हालसम्म झन्डै तीन लाख सदस्यले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्। पार्टीले गत वैशाख १ गतेदेखि सुरु गरेको अभियान अन्तर्गत सदस्यता अद्यावधिकको काम अन्तिम चरणमा पुगेको छ।

पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार अभियानमा उल्लेख्य सहभागिता देखिएको छ। अद्यावधिकको समय सकिन दुई दिन मात्र बाँकी रहँदा कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि समेत आवेदन खुला गरेको छ।

बिज्ञापन

दुलालले सदस्यता अद्यावधिकको म्याद थप्ने सम्भावना न्यून रहेको बताए। उनका अनुसार विशेष परिस्थितिमा छुटेका सदस्यका लागि केही समय थप गर्न सकिए पनि औपचारिक रूपमा म्याद लम्ब्याउने योजना छैन।

उनले पार्टीमा सक्रिय हुन चाहने कोही पनि सदस्य अवसरबाट वञ्चित नहोस् भन्ने उद्देश्यले नयाँ सदस्यता आवेदन खुला गरिएको बताए। अहिले आवेदन दिने नयाँ सदस्यहरूले पनि पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको उनको भनाइ छ।

सोमबार बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ क्रियाशील सदस्यता आवेदन खुला गर्ने निर्णय गरेको हो।

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमार्फत पाँच लाख सदस्य पुर्‍याउने लक्ष्य राखेको थियो। तर समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलले उक्त लक्ष्य हासिल हुने अवस्था नदेखिएको बताए। उनका अनुसार अघिल्लो महाधिवेशनमा सहभागी भएका धेरै सदस्यको निधन भइसकेको वा केहीले पार्टी परित्याग गरिसकेका कारण अपेक्षित संख्या पुग्न कठिन देखिएको छ।

यता, निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले भने क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति असहमति जनाउँदै आफ्नो अडान कायम राखेका छन्।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू केन्द्रीय सदस्य भएकाले पुनः सदस्यता अद्यावधिक गर्नुपर्ने आधार नरहेको बताएका छन्। उनले यसअघि पनि ‘जरा अभियान’ अन्तर्गतको सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी नहुन कार्यकर्तालाई आग्रह गरेका थिए।

इतर पक्षका नेताहरूले सदस्यता अद्यावधिकलाई अनिवार्य बनाइए धेरै पुराना सदस्य प्रक्रिया बाहिरिने र महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठ्ने तर्क गर्दै आएका छन्। उनीहरूले साझा सहमतिका आधारमा महाधिवेशनको तयारी अघि बढाउनुपर्ने माग राखेका छन्।

नेता प्रकाशशरण महतले सदस्यता अद्यावधिकको विषयले पार्टीभित्र अनावश्यक शंका पैदा गरेको भन्दै संस्थापन पक्षसँग अनौपचारिक छलफल भइरहेको जानकारी दिए। उनका अनुसार महाधिवेशनलाई निष्पक्ष र सर्वस्वीकार्य बनाउन साझा संयन्त्र निर्माण आवश्यक छ।

यसअघि नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँचबुँदे प्रस्ताव अघि सार्दै १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नबनाउनुपर्ने सुझाव दिएका थिए। यही विषय अहिले कांग्रेसभित्रको प्रमुख विवादका रूपमा देखिएको छ।

यद्यपि, इतर समूहका केही नेताहरूले भने सदस्यता अद्यावधिक गरिसकेका छन्। नेता रामहरि खतिवडाले आफ्नो सदस्यता अद्यावधिक भइसकेको स्वीकार गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।

पार्टीभित्र संस्थापन र इतर पक्षबीच सदस्यता विवाद कायम रहे पनि दुवै पक्ष महाधिवेशनलाई सफल बनाउने विषयमा संवादमा रहेका छन्। कांग्रेस नेतृत्वले भने सदस्यता व्यवस्थापनलाई व्यवस्थित गर्दै समयमै महाधिवेशन सम्पन्न गर्ने तयारीलाई प्राथमिकतामा राखेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka