विराटनगर । मोरङको रतुवामाई नगरपालिका–७ बाट जुवातास खेलिरहेको अवस्थामा नेपाली र भारतीय नागरिकसहित सात जना पक्राउ परेका छन् ।
स्थानीय दिनेश सुतिहारको खाली घरमा नियमित रूपमा जुवातास खेल्ने गरेको सूचनाका आधारमा प्रहरीले सोमबार बिहान करिब साढे ३ बजे छापा मारेको थियो ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलास लिम्बूको नेतृत्वमा खटिएको टोलीले कपर सुख्खा बोका टोलस्थित घरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–२ का ३३ वर्षीय अरुणकुमार गनगाई, ३२ वर्षीय उपेन्द्रप्रसाद गनगाई र वडा नम्बर ७ का ४६ वर्षीय कपिल साह छन् ।
त्यस्तै, भारतको किशनगन्ज जिल्लाअन्तर्गत पक्खली पञ्चायत डुमरिया–४ का ३५ वर्षीय अजय सोनार, ३० वर्षीय सुरज शाह, २८ वर्षीय राजु सोनार र डुमरिया–७ का २२ वर्षीय सुरज मण्डल पक्राउ परेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालका अनुसार घटनास्थलबाट नेपाली रुपैयाँ १५ हजार ७०० र भारतीय रुपैयाँ १९ हजार ५२० बरामद भएको छ । दुवै देशको मुद्रा नेपाली रुपैयाँमा रूपान्तरण गर्दा कुल ३५ हजार २२० रुपैयाँ बराबर हुन्छ ।
प्रहरीले घटनास्थलबाट चारवटा मोटरसाइकल, सातवटा मोबाइल र तीन बुङ ताससमेत बरामद गरेको छ ।
पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ । उनीहरूमाथि जुवाताससम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
