नोट: यो समाचार ३ महिना अघिको हो
फायल फोटो
विराटनगर। विराटनगर महानगरपालिका–८ मधुमारास्थित गोविन्द राजवंशीको घरमा सञ्चालित तासको खालमा बिहीबार साँझ प्रहरीले छापा मारेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा गएको प्रहरी टोलीले साँझ ६:३० बजेतिर छापा मारेर तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१२ का ३७ वर्षीय अनिलबाबु कुँवर, विराटनगर-८ का ६० वर्षीय पदम भट्टराई, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-१ का ४२ वर्षीय छत्रबहादुर बस्नेत, भोजपुरको साल्पासिलिछो गाउँपालिका-१ का ४३ वर्षीय शंकर थापा, विराटनगर-८ निवासी ५० वर्षीय गोपाल मण्डल, ६० वर्षीय शंकरप्रसाद ओझा, ४२ वर्षीय कपिल खड्का, र मोरङको कटहरी गाउँपालिका-१ का ४० वर्षीय सन्तोषकुमार भट्टराई रहेका छन्।
मोरङ प्रहरी प्रमुखका अनुसार घटनास्थलबाट ९७ हजार १ सय ६५ रुपैयाँ नगद र पाँच बुङ तास बरामद गरिएको छ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
