चितवन । नेपालमा मानवीय लापरवाहीका कारण जंगली भाले हात्ती मारिने क्रम बढ्दै गएको छ । चालु वर्षको डेढ महिनाको अवधिमै चारवटा भाले हात्ती मारिएका छन् । असोज महिनामा मात्रै तीनवटा प्रजननयोग्य भाले हात्तीको मृत्यु भएपछि संरक्षणकर्मीहरूले हात्तीको प्रजननमा संकट आउन सक्ने चेतावनी दिएका छन् ।
२०८३ असोज ३ गते चितवन राष्ट्रिय निकुञ्जको चर्चित हात्ती रोनाल्डो वरण्डाभार क्षेत्रमा नेपाली सेनाको पोस्टमा लगाइएको विद्युतीय तार चपाउँदा करेन्ट लागेर मरेको थियो । त्यसको १५ दिनपछि असोज १८ गते सर्लाहीको बागमती नगरपालिका–४ स्थित परबलबारीमा सुँढलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा अर्को भाले हात्ती मृत भेटियो ।
त्यसको नौ दिनपछि उदयपुरको बेलका नगरपालिकामा कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकै धानबारीमा ‘सानो दारे’ नामले चिनिने वयस्क भाले हात्ती मृत फेला परेको थियो । यसअघि भदौ ३१ गते झापाको मेचीनगर–३ स्थित तेलपानी जंगलमा पनि एउटा भाले हात्ती मृत भेटिएको थियो ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार गत वर्ष नौवटा जंगली भाले हात्ती मारिएका थिए । पछिल्लो १५ वर्षमा मानवीय कारणले ५८ वटा हात्ती मारिएको उनको भनाइ छ ।
एउटा भाले हात्तीले धेरै पोथी हात्तीसँग प्रजनन गर्ने भएकाले यसको मृत्युले हात्तीको वंश विस्तारमा गम्भीर असर पार्ने डा. राम बताउँछन् । उनले किसानलाई समयमै उचित क्षतिपूर्ति उपलब्ध गराउने र विद्युतीय धराप तथा विषादी प्रयोग रोक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
संरक्षणकर्मी डा. बाबुराम लामिछानेका अनुसार नेपालमा करिब दुई सयको हाराहारीमा रहेका हात्तीमध्ये बर्सेनि ११–१२ वटा मारिने गरेका छन् । यही अवस्था जारी रहे भविष्यमा नेपालमा हात्ती लोप हुने जोखिम रहेको उनले बताए ।
विज्ञहरूका अनुसार हात्तीका परम्परागत जैविक मार्गमा अवरोध, बासस्थानमा मानवीय हस्तक्षेप र धानबालीमा आकर्षित हुने प्रवृत्तिले मानव–हात्ती द्वन्द्व बढाएको छ । हात्ती संरक्षणका लागि जनचेतना, प्रभावकारी राहत व्यवस्था र जैविक मार्गको संरक्षण आवश्यक रहेको उनीहरूको भनाइ छ ।
