काठमाडौं । दशैंमा आफन्तजन र ठूलाबडाबाट दक्षिणाका रुपमा पाइने नयाँ वा पुराना नोटमा केरमेट गरे, रंग दले वा स्टिच गरे कारवाहीमा पर्नुहोला । नेपाली नोटमा केरमेट गर्ने, च्यात्ने, स्टिच लगाउने वा रङ दल्ने गर्नुभएको छ सावधान, यस्तो बानी आजबाटै छाड्नु होला । तीन महिना जेल पर्न सकिन्छ ।
यस्ता कार्य गर्नेलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याउने भएको छ । प्रचलित कानुनअनुसार नेपाली नोट वा सिक्का जलाउने, केरमेट गर्ने वा नष्ट गर्ने कार्य गरेमा तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्नेतर्फ राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत गराएको छ ।
धेरैले दसैँ, तिहारलगायत चाडपर्वका बेला नोटमा पूजा गर्ने, टीका तथा रङ लगाउने र विभिन्न प्रयोजनका लागि नोटमा स्टिच लगाउने गर्छन । यदि तपाइँ पनि यस्तो गर्नुहुन्छ भने यस्तो बानी छाडिदिनुहोस । त्यस्तै, नोटमा तेल लाग्ने, मासु पसलमा रगत लागेका हातले पैसा समात्ने तथा नोटलाई जथाभावी प्रयोग गर्ने प्रवृत्तिले पनि यसको गुणस्तरमा असर पार्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो काम गर्दा नोट फोहोर हुने, चाँडै बिग्रने र प्रयोग गर्न नमिल्ने गरी च्यातिने जोखिम बढाउँछन् । नोटको आयु बढाउन तथा सफा र व्यवस्थित मुद्रा प्रचलनमा राख्न नेपाल राष्ट्र बैंकले सफा नोट नीति अवलम्बन गरेको छ ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ मा नेपाली नोट वा सिक्का जलाउने, केरमेट गर्ने वा नष्ट गर्ने कार्यलाई कसुरका रूपमा उल्लेख गरिएको छ । यस्तो कार्यमा संलग्न हुनेलाई कानुनअनुसार तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनामा यस्तो गलत कार्य नगर्न सर्वसाधारणलाई आग्रह गर्दै गरिएको छ । हिजोआज बैंक तथा वित्तीय संस्थाले पनि नोटमा स्टिच लगाउँदैनन् ।
नोट छपाइ गर्न राज्यले ठूलो रकम खर्च गर्ने भएकोले यसको आयु बढाउन सर्वसाधारणले पनि सहयोग गर्नुपर्ने जनाइएको छ ।
