विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले खसी–बोकाको मासुको खुद्रा मूल्य प्रतिकेजी अधिकतम १ हजार १०० रुपैयाँ निर्धारण गरेको छ।
मासुको मूल्यमा अचानक वृद्धि भएको भन्दै उपभोक्ताबाट गुनासो आएपछि प्रशासनले मूल्य नियन्त्रणका लागि यस्तो कदम चालेको हो।
कार्यालयले असोज २९ गते सूचना जारी गर्दै जिल्लाभर खसी–बोकाको मासु प्रतिकेजी १ हजार १०० रुपैयाँभन्दा बढीमा बिक्री नगर्न व्यवसायीलाई अनुरोध गरेको छ।
जिल्ला प्रशासनका अनुसार यसअघि पनि खसी–बोकाको मासुको मूल्य प्रतिकेजी १ हजार १०० रुपैयाँ कायम गरिएको थियो। केही मासु व्यवसायीले सोही मूल्यमा बिक्री गर्ने प्रतिबद्धता जनाए पनि बजारमा मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने अवस्था देखिएपछि प्रशासनले पुनः सूचना जारी गरेको हो।
प्रशासनले तोकिएको मूल्यभन्दा बढीमा मासु बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
उपभोक्तालाई राहत प्रदान गर्नुका साथै मासुको मूल्यमा हुने अस्वाभाविक वृद्धि नियन्त्रण गर्ने उद्देश्यले मूल्य निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

