विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा कैदीबन्दीलाई भेट्न आएका दुई महिलाबाट ४८० थान शंकास्पद लागुऔषध बरामद भएको छ ।
बुधबार (२०८३ असोज २९ गते) दिउँसो १२ः३० बजे विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङबाट उक्त पदार्थ बरामद भएको हो ।
कारागारको मुख्य गेटमा खटिएका सुरक्षाकर्मीले जाँच गर्ने क्रममा उनीहरूले भित्री वस्त्रको प्याडभित्र लुकाएर ल्याएको अवस्थामा हरियो रङका २४० थान र सुन्तला रङका २४० थान ट्याब्लेट फेला पारेका थिए ।
बरामद पदार्थसहित दुवै महिलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि दिउँसो १२ः५० बजे कारागारमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको छ ।
बरामद ट्याब्लेटको प्रकृति तथा प्रकारबारे भने प्रहरीले थप परीक्षण र अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
