काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले दुईवटा जलविद्युत् आयोजना र एउटा सिमेन्ट उद्योगमा साढे २ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ ।
कम्पनीले ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजना, ९० मेगावाट क्षमताको दूधकोशी–२ जलविद्युत् आयोजना तथा मोरङको अर्नपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा लगानी गर्ने निर्णय गरेको हो ।
एनआरएन इन्फ्रास्ट्रक्चरको सञ्चालक समितिको मंगलबार बसेको बैठकले दूधकोशी हाइड्रोपावर नेपालले प्रवर्द्धन गरिरहेको दूधकोशी–२ जलविद्युत् आयोजनामा १ अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ । त्यस्तै, सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजनामा २० करोड रुपैयाँ लगानी गरिनेछ ।
यसैगरी, मोरङमा रहेको अर्नपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा कम्पनीले ९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ ।
जलविद्युत् तथा औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्ने रणनीतिअनुसार कम्पनीले यी परियोजनामा लगानी गर्न लागेको हो ।
