Premier Cables
Premier Steel

राजनीति

प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३०, २०८३  | अपराह्न १२:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

एकहत्तरौँ प्रहरी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

विज्ञापन

उहाँले प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको समेत जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहले कर्तव्य पालनाको सिलसिलमा हालैको भोटेकोशी–त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गर्नुभएको प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उहाँले कर्तव्य निर्वाहका सिलसिलामा घाइते र अशक्त हुनुभएका प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो । “हामी ‘विपद्मा सारथी, सङ्कटमा छहारी, प्रविधि प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ प्रहरी दिवस मनाइरहेका छौँ । कार्यक्रममा विमोचन हुने ‘पुलिस मिरर–२०८३’ ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासँग जोड्ने र सङ्गठनको सम्झनालाई ताजा राखिरहने अपेक्षा छ”, शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले भन्नुभएको छ ।

पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ थियो । यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैङ्क, इन्टरनेट र टेलिकम सेवा प्रदायक तथा डिजिटल वालेटलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढङ्गले सम्बोधन गर्ने व्यवस्था भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कृत्रिम बुद्धिमत्ता (एआई), ‘एरियल सेक्युरिटी एण्ड सपोर्ट युनिट’ र ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापनाको तयारी भइरहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय विकास साझेदारलाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।

“नेपालको आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी निरन्तर खटिरहेको छ । राष्ट्रसेवकको असली परीक्षा सङ्कटका बेला हुन्छ । सङ्कटको घडीमा हाम्रो धैर्यता, सही निर्णय र कुशल कार्यसम्पादनले नै जुनसुकै सङ्कट टार्न मद्धत गर्दछ”, प्रधानमन्त्रीले दिनुभएको शुभकामना सन्देशमा भनिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री शाहले पठाउनुभएको शुभकामना सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वाचन गरेर सुनाउनुभएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka