काठमाडौं । नेपालीको महान् पर्व बडादसैँका सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमका विभिन्न डिपो तथा कार्यालय खुला रहने भएका छन् । निगमले उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै स्थानीय आवश्यकताअनुसार पेट्रोलियम पदार्थको सहज बिक्रीवितरणका लागि निश्चित दिनमा डिपो सञ्चालन गर्ने जनाएको छ ।
निगमले असोज ३० गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर कात्तिक २, ६ र ८ गते खुला रहनेछ । त्यसैगरी मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज कात्तिक १, २, ६ र ८ गते सञ्चालन हुनेछ ।
बागमती प्रादेशिक कार्यालय थानकोट कात्तिक १, २, ६ र ७ गते तथा गण्डकी प्रादेशिक कार्यालय पोखरा कात्तिक १, २ र ६ गते खुला रहने निगमले जनाएको छ । लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा कात्तिक १, २, ६ र ८ गते सञ्चालन हुनेछ ।
कर्णाली प्रादेशिक कार्यालय सुर्खेत असोज ३०, कात्तिक २ र ७ गते खुला रहनेछ भने सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी कात्तिक २ र ६ गते सञ्चालन हुनेछ ।
यसैगरी नेपालगञ्ज र दाङका इन्धन डिपो कात्तिक २ र ६ गते खुला रहनेछन् । जनकपुरस्थित इन्धन डिपो असोज ३१ तथा कात्तिक २ र ६ गते सञ्चालन हुनेछ । झापाको चारआली शाखा असोज ३१ तथा कात्तिक १, ६ र ८ गते खुला रहनेछ ।
निगमले पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा केन्द्रीय कार्यालयका सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ । पेट्रोल तथा डिजेलसम्बन्धी समस्याका लागि ९८४१४८०२०७ र एलपी ग्यास तथा हवाई इन्धनसम्बन्धी समस्याका लागि ९८४१४३३६०४ नम्बरमा सम्पर्क गर्न सकिने निगमले जनाएको छ ।
