विराटनगर । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पिङ्क अक्टोबरको अवसरमा विराटनगरमा आयोजित सचेतना कार्यक्रम बिहीबार (आज) सम्पन्न भएको छ।
रोटरी क्लब अफ विराटनगर फ्युजन र रोटरी क्लब अफ विराटनगर जेमिनीको सहकार्यमा आयोजित कार्यक्रममा स्तन क्यान्सरको पहिचान, नियमित स्वास्थ्य परीक्षणको महत्त्व, उपचार प्रक्रिया तथा समयमै उपचार सुरु गर्नुपर्ने विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा स्तन क्यान्सरसम्बन्धी विशेषज्ञ चिकित्सक डा योशिका भट्टराईले महिलाहरूलाई स्तन स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्दै स्तनमा देखिन सक्ने असामान्य परिवर्तनलाई बेवास्ता नगर्न सुझाव दिइन्। उनले स्तनमा गाँठो देखिनु, आकार वा छालामा परिवर्तन आउनु तथा मुन्टोबाट असामान्य स्राव हुनुजस्ता लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्ने बताइन्। यस्ता लक्षण देखिँदैमा क्यान्सर नै भएको भन्ने नहुने भए पनि समयमै परीक्षण र विशेषज्ञको परामर्श महत्त्वपूर्ण हुने उनले उल्लेख गरिन्।
कार्यक्रममा स्तन क्यान्सरको उपचार गराएका महिलाहरूलाई समेत सहभागी गराई उनीहरूका अनुभव, उपचारका क्रममा चिकित्सकबाट प्राप्त सहयोग, उपचारपछि स्वास्थ्यमा देखिएका परिवर्तन तथा आफ्नो जीवनमा आएको अनुभवबारे प्रतिक्रिया राख्न लगाइएको थियो। उनीहरूका अनुभवमार्फत स्तन क्यान्सरको पहिचानपछि समयमै उपचार लिनु, चिकित्सकको सल्लाह पालना गर्नु र आत्मविश्वासका साथ अघि बढ्नुको महत्त्वबारे जानकारी गराइएको थियो।
त्यसैगरी, कार्यक्रममा सहभागी चिकित्सकहरूले स्तन क्यान्सरको जोखिम न्यूनीकरण, प्रारम्भिक पहिचान, उपचार प्रक्रिया तथा स्वास्थ्यसम्बन्धी जिज्ञासाका विषयमा आवश्यक सल्लाह र सुझाव दिएका थिए। महिलाहरूलाई नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्न तथा स्तन स्वास्थ्यसम्बन्धी भ्रम र संकोच हटाएर खुलेर परामर्श लिन पनि आग्रह गरिएको थियो।
स्तन क्यान्सरबारे जनचेतना फैलाउने, रोगको समयमै पहिचान गर्न प्रोत्साहित गर्ने र महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
पिङ्क अक्टोबर अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई रोटरी क्लब अफ विराटनगर फ्युजन र रोटरी क्लब अफ विराटनगर जेमिनीले सहयोग गरेका थिए।
