विराटनगर । विराटनगरको अर्किड कलेजले बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी कलेजका गतिविधि र आफ्ना योजनाबारे जानकारी गराएको छ ।
मंगलबार (असोज २८) मा आयोजित पत्रकार सम्मेलनमा कलृेजले व्यवस्थापनले विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यानमा राख्दै संगीत तथा नृत्य तालिम, पाककला, सांस्कृतिक कला, निबन्ध तथा वक्तृत्वकला, पत्रकारिता, डिजिटल मिडिया र खेलकुदलगायतका गतिविधिलाई प्राथमिकतामा राखेको जानकारी दिइयो ।
यस्ता गतिविधिले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै सहकार्य, अनुशासन, सञ्चार सीप र नेतृत्व क्षमताको विकास गर्न सहयोग पुग्ने कलेजका प्रिन्सिपल मनिष भट्टराईले बताए ।
त्यस्तै, विभिन्न क्लबमार्फत विद्यार्थीलाई आफ्नो रुचि र क्षमताअनुसार सहभागी गराउँदै सिकाइलाई थप व्यावहारिक र प्रभावकारी बनाउने लक्ष्य राखिएको उनको कथन थियो । सामूहिक सिकाइ र सिर्जनात्मक गतिविधिले विद्यार्थीलाई भविष्यमा आवश्यक पर्ने सीप हासिल गर्नसमेत सहयोग पुर्याउने विश्वास गरिएको छ।
शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र नभई जीवनमा आवश्यक ज्ञान, सीप र सकारात्मक सोच विकास गर्ने प्रक्रिया पनि भएको उनले सुनाए । यही अवधारणालाई आत्मसात् गर्दै कक्षाकोठाभन्दा बाहिरका गतिविधिलाई शिक्षाको अभिन्न अङ्ग बनाउनु कलेजको उद्देश्य रहेको बताइयो ।
