चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात भाले जंगली हात्ती ‘ध्रुवे’को आक्रमणबाट भरतपुर महानगरपालिका–२३ मा एक आमा र उनका चार वर्षीय छोराको मृत्यु भएको पुष्टि भएको छ।
शनिबार राति घरमै रहेका बेला जंगलबाट बस्तीमा पसेको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका छोरा भरत बोटेमाथि आक्रमण गरेको थियो। आक्रमणमा दुवैको घटनास्थलमै मृत्यु भएको भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए।
घटनाका क्रममा हात्तीलाई धपाउने प्रयासमा आशिकाका श्रीमानले आगो बाल्न खोज्दा घरमा आगलागी भई पूर्ण रूपमा नष्ट भएको पनि जनाइएको छ।
आक्रमणपछि ध्रुवे पुनः चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा फर्किएको बताइएको छ। स्थानीयका अनुसार यो हात्ती प्रायः सुखीभार क्षेत्रमा बसोबास गर्ने भए पनि बेला–बेलामा मेघौलीसहित आसपासका बस्तीमा समेत प्रवेश गर्ने गरेको छ।
यस घटनासँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। यसअघि २०७४ सालमा नेपाली सेनाका एक मेजरको ज्यान लिएपछि करिब नौ वर्षपछि ध्रुवेबाट पुनः मानवीय क्षति भएको हो।


