विराटनगर । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। चैत ६ गते शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। उक्त बैठकमा प्रदेश सभापतिहरूलाई पनि सहभागी हुन आह्वान गरिएको छ।
बैठकमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ। फागुन २१ गते भएको निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको थियो।
निर्वाचनमा सभापति गगन थापासहित अधिकांश शीर्ष नेताहरू पराजित भएपछि पार्टीभित्र नेतृत्वबारे प्रश्न उठ्न थालेको छ। थापाको राजीनामा मागसमेत भइरहेको छ। उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा थापाले राजीनामा दिने संकेत गरे पनि शर्माले त्यसो नगर्न सुझाव दिएका थिए।
यससँगै कांग्रेसभित्र नियमित महाधिवेशनको मिति तोक्नुपर्ने माग पनि उठ्दै आएको छ।
