






काठमाडौं । तपाईं हाम्रो घर वरपर लामखुट्टे, भुसुना, किर्नालगायतका किट पक्कै छन् । हामीले त्यस्ता किराको बेवास्तासमेत गरिरहेका छौं होला ।
तर ख्याल गर्नुहोस्, यस्तै किराको टोकाइबाट डेंगी, मलेरिया, स्क्रब टाइफसलगायतका रोग लाग्दा समस्या देखिने मात्र होइन मानिसको ज्यानैसम्म जाने गरेको छ । सामान्य लाग्ने किराको टोकाइले नेपालमा बर्सेनि मानिसहरुको मृत्यु हुने गरेको छ ।
नेपालले सन् २०२६ सम्ममा कालाजार उन्मुलन/निवारण गर्ने लक्ष्य लिएको छ । तर सन २०२४ मा मात्रै भुसुनाको टोकाइबाट हुने कालाजारका बिरामी ५८ जिल्लामा गरी १ सय ५५ जना भेटिए ।
यसैगरी सन् २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिइएको अर्को किटजन्य रोग औलोका बिरामी पनि लगातार देखिँदै आएका छन् । एनोफेस जातको लामखुटेको टोकाइबाट हुने औलोका बिरामी गतवर्ष ५८ जिल्लामा १ हजार ४३ जना फेला परेका छन् ।
सरकारी तथ्यांकअनुसार यो संख्या मध्ये ३७ जनामा स्थानीय मलेरिया देखिएको हो भने बाँकी आयातित केस हुन् । अर्थात् किटजन्य रोगको संक्रमण निवारणमा चुनौती थपिएको छ ।
स्वास्थ्य सेवा विभागको किटजन्य रोग प्रमुख डा गोकर्ण दाहालले अहिले निवारण गर्नुपर्ने रोगहरुलाई तीनै तहका सरकारले प्राथमिकता नदिए रोग निवारणमा चुनौती देखिने बताउनुभयो ।
लामखुट्टे, किर्ना, उपियाँ, जुम्रा जस्ता किटबाट एक व्यक्तिबाट अर्कोमा सर्ने रोगलाई किटजन्य रोग भनिन्छ । र नेपालमा किटजन्य रोगको समस्या बर्सेनि देखिँदै आएको मात्र होइन, मानिसको ज्यानै समेत लिइरहेको छ ।
सरकारी तथ्याङ्कअनुसार नेपालमा एडिस एजेप्टाइ जातको लमखुट्टेको टोकाइबाट हुने डेंगीको संक्रमण पछिल्लो ३ वर्ष यता झन्डै ५० हजारलाई देखिइसकेको छ । डेंगीका कारण गत वर्ष मात्र १५ जनाको मृत्यु भयो । यो अंग्रेजी वर्षको ७ महिनामा ७४ जिल्लामा २५ सयभन्दा बढी संक्रमित देखिएका छन् ।
यसैगरी मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गत वर्ष ६५ जिल्लामा १० हजार २ सय ७ जना संक्रमित भए । स्क्रबका कारण कतिको मृत्यु भयो भन्ने तथ्यांक सरकारसँग छैन ।
किटजन्य रोगको जोखिम निश्चित स्थान वा समुदायता मात्रै नभएर देशैभर नै देखिन सुरु भइसकेको छ । विगतमा सामान्यत: गर्मी मौसम र तराईमा देखिने यस्ता संक्रमण अब जाडो याम र हिमाली क्षेत्रमा पनि देखिएको छ । यसको प्रमुख कारण हो जलवायु परिवर्तन र एक ठाँउबाट अर्को ठाउँमा सहज आवागमन ।
पछिल्लो समय एक ठाउँबाट अर्को ठाउँमा सहजै हुने आवागमनका कारण किटजन्य रोगका बाहकहरु सहजै जता पनि पुग्ने गर्छन् । जलवायु परिवर्तनको प्रभावले यस्ता किटको बसोबासका लागि अनुकूल वातावरण बनेको छ । तर नियन्त्रणका लागि सरकारले गरेका प्रयास प्रभावकारी नहुँदा लक्ष्य प्राप्तिमा चुनौती देखिएको जानकारहरु बताउँछन् ।
त्रिविका सहप्राध्यापक मेघराज बन्जारा भन्नुहुन्छ- दीर्घकालीन रुपमा प्रभाव पार्ने विषादी बिक्रीमा भएको कमीका कारण पनि लक्ष्य हासिल गर्न सकिएको छैन ।
नियन्त्रण गर्ने सरकारी प्रयास प्रभावकारी नदेखिएपछि हामी आफैं पनि सचेत हुनुपर्ने भएको छ । यसका लागि किटको टोकाइबाट जोगिनेदेखि व्यक्तिगत सरसफाइसम्म ध्यान दिनु जरुरी छ ।
समस्या कहाँ छ भन्ने सरकारलाई थाहा हुँदाहुँदै पनि नियन्त्रणका लागि समयमै योजना बनाएर सक्रियता देखाउन सकेको छैन । सरकारले नै स्वास्थ्य क्षेत्रमा राष्ट्रिय लक्ष्यहरु तय गर्ने तर प्राप्त गर्न वेवास्ता गर्ने जस्तो भइरहेको छ ।