विराटनगर । रोटरी क्लब अफ बिराटनगर डाउनटाउनको आयोजनामा तथा सीएनआई कोशीको सहकार्यमा “कोड अफ ग्रेस” शीर्षकको पाँच घण्टे रूपान्तरणकारी कार्यशाला शनिबार होटल स्वागतम, बिराटनगरमा सम्पन्न भएको छ।
कार्यक्रममा करिब १०० जना सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उद्योग, व्यापार, स्वास्थ्य सेवा, शिक्षा, मार्केटिङ, उद्यमशीलता तथा गृहिणीहरूसम्मका व्यक्तिहरूको उपस्थिति रहेको उक्त कार्यक्रम बहुआयामिक र समावेशी बनेको आयोजकहरूले बताएका छन्।
कार्यक्रमका मञ्चासिन अतिथिहरूमा सीएनआई कोशीका अध्यक्ष पवन सारडा, रोटरी क्लब अफ बिराटनगर डाउनटाउनकी अध्यक्ष रोटेरियन गिरिजा सारडा, महिला समिति संयोजक रचना राठी, कार्यक्रमकी प्रमुख अतिथि तथा सहजीकर्ता यूएमबी मिसेस इन्डिया २०२४ निवृति गुप्ता चान्डक, तथा विशेष अतिथि दीपिका खण्डेलवाल रहनु भएको थियो।
कार्यशालामा सहभागीहरूलाई आत्मविश्वास विकास, प्रभावकारी संवाद, व्यक्तित्व प्रस्तुति, सामाजिक शिष्टाचार, व्यक्तिगत ब्रान्डिङ तथा नेतृत्व कौशल सम्बन्धी विषयहरूमा व्यावहारिक तथा अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रम सञ्चालन रोटरी क्लब अफ बिराटनगर डाउनटाउनकी सचिव पूनम रमेश राठी द्वारा गरिएको थियो।
कार्यक्रममा बासुदेव गोल्यान, पवन सारडा र अरुण राठी जस्ता प्रतिष्ठित व्यवसायिक घरानाका प्रमुखहरूदेखि लिएर अस्पतालका मार्केटिङ पेशेवर, विद्यालयका शिक्षक–शिक्षिका, युवा उद्यमी तथा गृहिणीहरूसम्मको सहभागिता रहेको विषयमा रोटेरियन गिरिजा सारडाले जानकारी दिइन्।
कार्यक्रमको समापनतर्फ रोटरी क्लब अफ बिराटनगर डाउनटाउनकी अध्यक्ष निर्वाचित सरिता गोल्छाले धन्यवाद ज्ञापन गर्दै सहभागी, अतिथि, सहआयोजक तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरेकी थिइन्।
