विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले कोशी प्रदेश अन्तर्गत रहेका सबै प्रहरी कार्यालयका प्रमुखहरूलाई भर्चुअल माध्यममार्फत निर्वाचन लक्षित आवश्यक निर्देशन दिनुभएको छ।
निर्देशनका क्रममा डिआइजी घिमिरेले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जोड दिनुभयो।
उहाँले संवेदनशील क्षेत्रहरूको पहिचान गरी आवश्यक सुरक्षा सतर्कता अपनाउन, गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन निर्देशन दिनुभयो।
त्यसैगरी, कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले शान्ति–सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह तथा अपराध अनुसन्धानलाई नतिजामुखी बनाउँदै कार्यसम्पादन सूचाङ्कअनुसार जिल्ला प्रहरी कार्यालयहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
उहाँले शतप्रतिशत लक्ष्यअनुसार कार्यसम्पादन गर्न नसकेका प्रहरी कार्यालयहरूले थप जिम्मेवारीबोधका साथ आ–आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो।
निर्वाचनको सन्दर्भमा प्रदेशभर शान्ति सुरक्षा कायम राख्न प्रहरी संयन्त्रलाई थप सक्रिय, सतर्क र उत्तरदायी बनाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
