Premier Cables
Premier Steel

राष्ट्रिय

जन्ती बस दुर्घटना: मृतक संख्या १३ पुग्यो

Calendar शुक्रबार, माघ २३, २०८२  | बिहान ८:२४ बजे

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृतक सबैको सनाखत भइसकेको छ।

पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा गएराति दुर्घटनामा परेको हो। बस सडकबाट करिब २०० मिटर तल खस्दा कच्याककुचुक भएको प्रहरीले जनाएको छ।

विहीबार रातिसम्म ८ जनाको मृत्यु पुष्टि भएकोमा डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप ५ जनाको मृत्यु भएपछि मृतक संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, अन्दाजी २७ वर्षीय दीपक जोशी र अन्दाजी ४५ वर्षीय किसनदत्त जोशी रहेका छन्।

यस्तै, बझाङकै केदारस्यु गाउँपालिका–७ का अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका–७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको छ।

यसअघि मृत्यु भएका व्यक्तिहरूमा बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी छन्। साथै, केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला पनि मृतकको सूचीमा रहेका छन्।

दुर्घटनामा घाइते भएका २५ जनाको डडेलधुरा अस्पतालमा र ४ जनाको बझाङस्थित देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। बेहुला–बेहुली भने अर्को गाडीमा सवार रहेकाले सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

जन्ती बोकेको बस बझाङको सुनकुडातर्फ फर्किँदै गर्दा दुर्घटनामा परेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka