नोट: यो समाचार ७ महिना अघिको हो
विराटनगर । भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ।
![]()
![]()
![]()
विज्ञापन
![]()
मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपांगी मगर र २४ वर्षीय सुरेन्द्र खपांगी मगरको घटनास्थलमै मृत्यु भएको हो।
बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपांगी मगर र टङ्ककुमारी खपांगी मगरका छोरा पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए।
सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपांगी मगर, कर्णबहादुर खपांगी मगर, नरबहादुर खपांगी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्।
मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराएका हुन्।
दुर्घटनाका घाइते चार जनाको अवस्था गम्भीर रहेको ताराबलले जानकारी दिए। ‘दुर्घटनामा पूर्णबहादुर र सुरेन्द्रको मृत्यु भएपछि उनीहरूको शव पर्खेर बसेको छु। यहाँ कोही चिनेजानेका मानिस छैनन् ।
चिनेजानेका मानिस कोही नहुँदा समस्यामा छु,’ उनले भने, ‘घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगेको छ। उनीहरूको पनि अवस्था चिन्ताजनक छ । यसप्रति सम्बन्धित निकायको ध्यान जाओस्।’
दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएको छिमेकी क्षेष्ठले जानकारी दिए।
मृतक मगर दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेको स्थानीयले बताएका छन्।
