Premier Cables
Premier Steel

विराटनगर

मोरङका १२ हजार ७५५ किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

Calendar बुधबार, माघ २१, २०८२  | साँझ ५:५८ बजे

विराटनगर । मोरङ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोपको जिल्लाव्यापी अभियान माघ २५ गतेदेखि सुरु हुने भएको छ ।

स्वास्थ्य कार्यालय मोरङका अनुसार अभियानमार्फत १२ हजारभन्दा बढी बालिकालाई खोप लगाइनेछ ।

कार्यालयका अनुसार कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७ सय ५५ बालिकालाई लक्षित गरी ३ देखि ५ दिनसम्म अभियान सञ्चालन गरिनेछ ।

अभियानका लागि जिल्लाभर ८ सय २७ वटा खोप केन्द्र तोकिएका छन् भने आवश्यक सबै तयारी पूरा भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बुधबार विराटनगरमा आयोजित सञ्चारकर्मी तथा सरोकारवाला अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य–सचिव योगराज घिमिरेले एचपीभी खोप दीर्घकालीन सार्वजनिक स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार भएको बताए ।

“यो खोप एउटा अभियान मात्रै होइन, हजारौँ बालिकाको भविष्य सुरक्षित गर्ने रणनीतिक लगानी हो,” उनले भने ।

गत वर्ष खोपबाट छुटेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई समेत यसपटक समेट्ने लक्ष्य लिइएको घिमिरेले जानकारी दिए । एचपीभी पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण भएको जनाउँदै जनस्वास्थ्य अधिकृत उत्सव पोखरेलले खोप सुरक्षित, प्रभावकारी र वैज्ञानिक रूपमा प्रमाणित रहेको बताए ।

उनका अनुसार यौन सक्रिय हुनुअघि खोप लगाउँदा यसको प्रभावकारिता उच्च हुन्छ र भविष्यमा क्यान्सरको जोखिम अत्यन्त न्यून हुन्छ ।

नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर रोगमध्ये एक हो । हरेक वर्ष एक हजारभन्दा बढी महिलाको यसकै कारण मृत्यु हुने गरेको तथ्यांक छ ।

मोरङमा ३० वर्षमाथिका महिलाका लागि भीआईए स्क्रिनिङ भइरहे पनि मूल जोखिम घटाउन किशोरी उमेरमै खोप आवश्यक रहेको स्वास्थ्य कार्यालयको निष्कर्ष छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka