विराटनगर। विद्यार्थीहरूको खेल प्रतिभा पहिचान तथा नेतृत्व क्षमता, अनुशासन र खेल भावना विकास गर्ने उद्देश्यले विराटनगरस्थित दिल्ली पब्लिक स्कुल (डीपीएस) मा अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ।
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशकी उपाध्यक्ष सन्तोषी श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, मोरङ जिल्ला फुटबल संघका धनकुमार लामा तथा मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धि दराईलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी पूर्वराष्ट्रिय खेलाडी सुनिल मगर, प्रकाश मल्ल, इन्द्रराज थापा, सरोज कोइराला र जय देवकोटालगायत खेलकुद क्षेत्रका व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो।
विद्यालयका प्रिन्सिपल टी.एन. भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि श्रेष्ठले दीप प्रज्वलन गरी प्रतियोगिताको शुभारम्भ गर्नुभएको थियो। कार्यक्रमको संयोजन सुमित डंगोलले गर्नुभएको थियो भने विद्यालयका एकेडेमिक कोअर्डिनेटर दुर्गा दाहाललगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताले विद्यार्थीहरूमा टिमवर्क, अनुशासन, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै विद्यालयस्तरबाटै फुटबल प्रतिभाको पहिचान र विकासमा सहयोग पुग्ने आयोजक विद्यालयले विश्वास लिएको छ।


