विराटनगर। राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारी मजहर आलमलाई प्रदान गरिएको छ। यसअघि जिल्ला कमिटीको उपाध्यक्षको जिम्मेवारीमा रहेका आलमलाई संगठनको केन्द्रीय कमिटीले सर्कुलर जारी गर्दै जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो।
सामाजिक तथा संगठनात्मक गतिविधिमा सक्रिय आलम लामो समयदेखि युवा परिचालन, सामाजिक सेवा र समुदायको हितका विभिन्न अभियानमा संलग्न रहँदै आएका छन्।
विशेषगरी सामाजिक सेवाका क्षेत्रमा उनको सक्रियता उल्लेखनीय रहेको छ। विभिन्न सामाजिक संस्था तथा अभियानमार्फत विपन्न, असहाय र आवश्यकतामा रहेका नागरिकलाई सहयोग गर्ने, चाडपर्वका अवसरमा राहत तथा खाद्यान्न वितरण गर्ने, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने तथा युवाहरूलाई सकारात्मक सामाजिक गतिविधिमा जोड्ने काममा उनी सक्रिय छन्।
आलमले सामाजिक सेवा कुनै राजनीतिक स्वार्थभन्दा माथि उठेर मानवीय भावनाका साथ गर्नुपर्ने धारणा राख्दै आएका छन्। समाजमा रहेका विभिन्न समुदायबीच एकता, सहकार्य र आपसी सद्भाव कायम गर्न युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको विश्वास छ।
नयाँ जिम्मेवारी पाएसँगै आलमले मोरङ जिल्लामा संगठनलाई थप सशक्त, व्यवस्थित र जनमुखी बनाउने लक्ष्य लिएका छन्। जिल्लाका सबै क्षेत्र र समुदायका युवाहरूलाई संगठनमा समेट्दै सामाजिक सेवा, युवा सशक्तीकरण, नेतृत्व विकास र राष्ट्र निर्माणका अभियानलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनको योजना रहेको छ।
उपाध्यक्षको जिम्मेवारीमा रहेर संगठनात्मक अनुभव हासिल गरेका आलमलाई अध्यक्षको नयाँ जिम्मेवारीसँगै मोरङमा युवा परिचालन र सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने अवसरका रूपमा हेरिएको छ।
