विराटनगर । विराटनगर महानगरपालिका-५ चाँदनी चोक निवासी गोपाल रेग्मी आगामी स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्।
लामो समय सरकारी सेवामा बिताएका रेग्मी अवकाशपछि राजनीतिमा सक्रिय भएका हुन्। जनप्रतिनिधिको नेतृत्वमा स्थानीय सरकार सञ्चालन हुनुअघि तत्कालीन विराटनगर उपमहानगरपालिकाको कार्यकारी अधिकृत (हालको प्रमुख प्रशासकीय अधिकृत) भएर काम गरेका रेग्मीको विराटनगरमा छुट्टै पहिचान छ। उनले विराटनगरमा तीन पटक कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन्।
सरकारी सेवामा रहँदा विराटनगरको सहरी विकास, सडक विस्तार, ढल निकास तथा सार्वजनिक पूर्वाधार निर्माणका विभिन्न योजनामा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। पुष्पलाल चोकदेखि तीनपैनी हुँदै सीमाक्षेत्रसम्मका सडक विस्तार,सातघुम्ती सडक खण्ड, डीएसपी रोड निर्माण, आधुनिक बसपार्क निर्माणको प्रक्रिया, तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम स्थापना तथा विश्रान्ती घाट व्यवस्थापनलगायतका काममा उनको भूमिका जोडिएको छ।
त्यसैगरी, मझौला सहरको एकीकृत वातावरणीय सुधार आयोजना, सार्वजनिक शौचालय निर्माण, सामुदायिक भवन, इको फाउन्टेन पार्क तथा ज्येष्ठ नागरिक र बालमैत्री कार्यक्रमलाई अघि बढाउनसमेत उनले काम गरेको विवरण सार्वजनिक भएका छन्। सडक विस्तार र ढल निकासका काममा स्थानीयस्तरमा चुनौती तथा अवरोध आए पनि त्यसलाई अघि बढाएका थिए ।
रेग्मीका अनुसार सरकारी कर्मचारीका रूपमा जिम्मेवारी सम्हाल्दा विराटनगरका लागि धेरै काम गर्ने अवसर पाए पनि आफूले परिकल्पना गरेका कतिपय योजना पूर्ण रूपमा कार्यान्वयन गर्न बाँकी छन्। अब जनप्रतिनिधिका रूपमा नेतृत्व गर्दै विराटनगरको समग्र मुहार परिवर्तन गर्ने र आफूले बनाएका योजनालाई व्यवहारमा उतार्ने उद्देश्यसहित मेयर पदमा उम्मेदवारी दिने तयारी गरेको उनी बताउँछन्।
विराटनगरको सहरी समस्या, पूर्वाधारको अवस्था र विकासका आवश्यकताबारे जानकार व्यक्तिका रूपमा रेग्मीलाई विराटनगरवासीले चित्रण गर्दै आएका छन्। सडक, ढल, व्यवस्थित सहरीकरण र सार्वजनिक सेवाको सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको तयारी छ।
पूर्वप्रशासक रेग्मीले मेयर पदमा उम्मेदवारी दिने तयारी थालेसँगै विराटनगरको राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। लामो समय प्रशासनिक नेतृत्वमा रहेर काम गरेका व्यक्तिले अब जननिर्वाचित नेतृत्वमा आउने चाहना राखेपछि आगामी स्थानीय निर्वाचनको राजनीतिक समीकरणमा उनको सम्भावित प्रवेशलाई चासोका साथ हेरिएको छ।
