Premier Cables
Premier Steel

अर्थ

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०९, २०८३  | अपराह्न ३:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल्स पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ। मिल्सलाई विदेशी लगानीसहित नयाँ व्यवस्थापनमा सञ्चालन गर्ने उद्देश्यले सरकारले ३५ वर्षका लागि सञ्चालनको जिम्मा दिन इच्छुक लगानीकर्तासँग आशयपत्र आह्वान गर्ने तयारी गरेको छ।

भारतीय बिडला समूहसहित कोलकाताका केही जुट उद्योगीले मिल्स सञ्चालनमा चासो देखाएपछि नयाँ रणनीतिक साझेदार खोज्ने प्रक्रिया अघि बढाइएको हो।

विज्ञापन

मिल्सका अनुसार नयाँ लगानीकर्ताले उद्योग विस्तार गर्दै दैनिक २५० टन जुटजन्य सामग्री उत्पादन गर्न सक्ने क्षमता पुर्‍याउनुपर्ने सर्त राखिएको छ। यसका लागि कम्तीमा दैनिक १०० टन उत्पादन क्षमता भएको जुट उद्योग सञ्चालन गरिरहेको हुनुपर्ने व्यवस्था गरिएको छ।

मिल्सका अध्यक्ष नन्दलाल देवकोटाका अनुसार नयाँ लगानीकर्ताले मिल्सको विगतको ऐतिहासिक, वित्तीय तथा श्रमसम्बन्धी दायित्व बेहोर्नुपर्ने छैन। लगानीकर्तालाई सुरक्षित व्यवस्थापन र सञ्चालनको वातावरण उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।

देवकोटाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गठन गरेको कार्यदलको सिफारिसका आधारमा नयाँ रणनीतिक साझेदार खोजिएको हो। गत साउनमा उद्योग मन्त्रालयअन्तर्गत संस्थान महाशाखाका प्रमुख नरराज घिमिरेको संयोजकत्वमा कानुन तथा अर्थ मन्त्रालयका सहसचिव र दुई विषयविज्ञ सम्मिलित कार्यदल गठन गरिएको थियो।

मिल्सले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक लगानीकर्ताले कम्तीमा २० वर्षदेखि जुट वा जुटजन्य सामग्री उत्पादन तथा प्रशोधन उद्योग सञ्चालन गरेको अनुभव हुनुपर्नेछ। साथै दैनिक कम्तीमा १०० टन उत्पादन क्षमता भएको उद्योग सञ्चालन गरिरहेको प्रमाणित अनुभव पनि अनिवार्य गरिएको छ।

नेपालमा हाल यो स्तरको उत्पादन क्षमता भएको अर्को कुनै जुट उद्योग छैन। गोल्छा समूहअन्तर्गत सञ्चालित अरिहन्त मल्टिफाइबर्सले दैनिक करिब ६५ टन जुटजन्य सामग्री उत्पादन गर्दै आएको छ।

लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल्सलाई पुनः सञ्चालनमा ल्याउने यो प्रयास सफल भए पूर्वी नेपालको औद्योगिक गतिविधि विस्तार हुनुका साथै जुट उद्योगमा नयाँ लगानी र रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka