विराटनगर । धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षण गर्ने सन्देशसहित मोरङको सुनवर्षी नगरपालिका–४, बटरवारीमा भव्य सामा चकेवा उत्सव सम्पन्न भएको छ।
‘विश्व शान्तिका लागि धर्म संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ महिला समूहको आयोजनामा बटरवारी चोकमा उत्सव आयोजना गरिएको हो। कार्यक्रममा महिला, बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा महिला समूहकी अध्यक्ष मीनादेवी यादवले मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन्। महिलाहरू एकजुट भएर आफ्नो मौलिक संस्कृति संरक्षणमा जुट्न पाउँदा खुसी लागेको उनको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे रहेका थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–२ का सभापति यज्ञबहादुर कार्की र सुनवर्षी नगरपालिका–४ का वडाध्यक्ष छेदिया यादव (सेदी) सहभागी थिए।
कार्यक्रममा पूर्वप्रधानाध्यापक चम्रु यादव, विनोद यादव, अमित यादव, प्रकाश यादव, अमरलाल यादव लगायत स्थानीय अगुवा तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
मिथिला संस्कृतिसँग जोडिएको सामा चकेवा पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ। यस्ता उत्सवले मौलिक परम्पराको जगेर्ना गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृति र पहिचानसँग जोड्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रमको सञ्चालन सुजाता यादव र सञ्चारकर्मी सुनिल यादवले गरेका थिए।
